जन आकाश
काठमाडौं । आज संविधान दिवस ३ असोज २०७२ मा संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदै छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो ।
यस अघिका सबै संविधान आयोग वा विभिन्न रूपमा निर्माण भएको भए पनि नेपाली जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान नै यो पहिलो हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।
नेपालको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र जनतामा निहित सर्वाभौमसत्ताको प्रतिकूल हुने बाहेकका सबै विषयमा संविधान संशोधन गर्न सकिने लचिलो व्यवस्था संविधानमा गरिएको छ । संविधान दिवस मुलुकभर आज (बुधबार) हर्षोल्लासका साथ मनाइँदैछ । सो क्रममा विभिन्न राजनीतिक दलले आ–आफ्नो तवरले दिवस मनाउने कार्यक्रमसमेत घोषणा गरिसकेका छन् ।
यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेशवादी, आदिवासी जनजातिलगायत रुष्ट छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् ।
तथापि, केही मधेशवादी दलमा भने विरोधाभाष देखिएको छ । संविधानको विरोध गरिरहेका उनीहरू यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् । सरकारले संविधान दिवस मनाइरहँदा असन्तुष्ट समूह भने यसको विरोधमा देखिएका छन् । मधेसी दल तथा केही संगठनहरूले यसलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेका छन् ।
संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व–प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत विभिन्न दलका अध्यक्ष तथा अन्य नेताहरूले शुभकामना सन्देश जारी गरेका छन् । संविधान दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend