logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

दुधौली एफएम ९७•२ मेगाहर्जको दोस्रो वार्षिकोत्सव सम्पन्न


  • जन आकाश
  • शुक्रबार, असोज ५ २०८०

सिन्धुली । दुधौली एफएम ९७•२ मेगाहर्जको दोस्रो वार्षिकोत्सव तथा साधारण-सभा स्थानीय कभर्डहलमा सुसम्पन्न भएको छ ।



सो समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुधौली नपाका प्रमुख दिनेश अधिकारीले सञ्चार माध्यमले नगरपालिकाले सम्पादन गरेका कामलाई जनसमक्ष लैजाने वाहकको भूमिका निर्वाह गर्नुपर्ने अभिमत राख्दै छुटेका कामको खबरदारी गर्न आग्रह गरे । आफ्नो नगरपालिका कार्यसम्पादनका हिसाबले ७५३ वटा स्थानीय तहमध्ये निकै सानदार रहेको दाबी गर्दै यसै शैक्षिक-सत्रदेखि दनुवार भाषालाई स्थानीय पाठ्यक्रममा समावेश गरेको अवगत गराए ।

आदिवासी दनुवार जातिको विशेष अध्ययन गरी जीवनोस्तर उत्थान गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले पुस्तकालय स्थापना गर्न लागेको जानकारी दिए । यदाकदा सञ्चारमाध्यमले दिने गरेका उत्तेजक नकारात्मक समाचारले सिङ्गो नपाको इज्जतलाई धराशायी बनाएको भन्दै दुधौली भनेको सर्पदंशको जोखिम भएको ठाउँ जस्तो देखाएर कुप्रचार गर्दा कतिपय राम्रा कर्मचारी आउन नमानेको, उद्योग खोल्न लालायित मान्छेहरू हच्कने गरेको र आन्तरिक पर्यटकहरू भयभीत भएको दुखेसो गरे ।

नेपालभरमै सर्पको टोकाइबाट बच्न र प्राथमिक उपचारका बारे स्थानीय-तह स्तरबाट तालिम दिने आफ्नो नगरपालिका नै पहिलो भएको उनको भनाइ थियो । सञ्चारमाध्यमले दिग्भ्रमित पार्ने नभई तथ्यगत समाचार प्रवाह गर्नुपर्ने उनको राय थियो ।

त्यस्तै नपाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले सरकारको ध्यान नपुगेका क्षेत्रबारे सञ्चार माध्यमले सुसूचित गराएर स्थानीय सरकारको ध्यानाकर्षण गर्न आग्रह गर्दै आफूहरूले गरेका कामको जवाफदेहिताबारे उठेका कुनै पनि प्रश्नको सामना गर्न आफू तयार रहेको खुलासा गरे ।

नकारात्मक कुरा बिकाउ भए पनि टिकाउ हुन नसक्ने भएकाले निर्माणात्मक कोणबाट जनतालाई खबर सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे । चौँथो अङ्गको जिम्मेवारी अन्य तीनवटा निकायको भन्दा कुनै पनि मानेमा कम नहुने भन्दै आफूहरूको क्षमताले भ्याउने काममा पनि ढिलासुस्ती वा जनताले दुःख पाउने अवस्था देखियो भने सदा खबरदारी गर्न चौँथो अङ्गलाई अनुरोध गरे ।

यसै गरी विशिष्ट अतिथि चर्चित गीतकार डा• कृष्णहरि बरालले सम्विधानलाई अक्षरशः पालन गर्नुपर्ने धारणा राख्दै विकास निर्माण भनेको भौतिक मात्र नभई त्यो संस्कार र असल संस्कृति हुने आफ्नो अवधारणा रहेको बताए । आफ्ना केही सिर्जना पस्केर उनले उपस्थित जनसमुदायलाई मन्त्रमुग्ध पारे ।

अर्का अतिथि चर्चित साहित्यकार महेश प्रसाईले नगरपालिकाले गरेका सकारात्मक कामको प्रशंसा गर्दै नगरप्रमुख र प्रशासकीय अधिकृतले धिरतापूर्वक सबैको कुरा सुनेकोमा सन्तोष व्यक्त गरे । दुधौली एफएमको निष्पक्षता र युवा सञ्चारकर्मीको ऊर्जाशीलताको तारिफ गर्दै अध्यक्ष दिल पौडेललाई धन्यवाद दिए ।

यस्तै दुधौली प्रज्ञाप्रतिष्ठानका उपकुलपति मणि काफ्लेले सञ्चारकर्मीहरूले सधैँ सत्तालाई प्रश्न गर्नुपर्ने धारणा व्यक्त गर्दै ध्वंसात्मक नभई निर्माणात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न उनले सञ्चारकर्मीलाई आह्वान गरे ।

दोस्रो वार्षिकोत्सवमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली काँग्रेसका पार्टी प्रतिनिधिहरूले पनि निष्पक्ष, स्वतन्त्र र जनमुखी पत्रकारिताका निम्ति सञ्चारकर्मीलाई उत्प्रेरित हुन आग्रह गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा साहित्यकार महेश प्रसाई, माधव घिमिरे ‘अटल’, गायकहरू डिजराज पौडेल र शोभा पाण्डेलाई सम्मान अर्पण गरिएको थियो भने एफएमका उत्कृष्ट सञ्चारकर्मी तथा केही सञ्चालक समितिका सदस्यलाई कदर-पत्र प्रदान गरिएको थियो ।

एफएमकै सञ्चारकर्मी रोहित गुरुङले सहजीकरण गरेको सो कार्यक्रमका अध्यक्ष तथा दुधौली एफएमका अध्यक्ष दिल पौडेलले सबै अतिथिहरूलाई सहभागिताका निम्ति आभार प्रकट गर्दै तथा आफ्नो बुताले भ्याएसम्म एफएमको प्रवर्धनमा समर्पित हुने वाचा गर्दै कार्यक्रमको बिट मारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend