logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

समकालीन कालखण्डका उम्दा नियात्राकार राजेन्द्रमान डङ्गोलकृत तेस्रो नियात्रासङ्ग्रह ‘बादलडाँडा’को गृह लोकार्पण


  • जन आकाश
  • शनिबार, असोज ६ २०८०

काठमाडौ । समकालीन कालखण्डका उम्दा नियात्राकार राजेन्द्रमान डङ्गोलकृत तेस्रो नियात्रासङ्ग्रह ‘बादलडाँडा’को गृह लोकार्पण यही असोज ३ गते भैरवी मा•वि• अशोकवाटिका, नुवाकोटमा सुसम्पन्न भएको छ ।



महेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो विमोचन तथा विमर्श कार्यक्रममा प्रा•डा• केशव सुवेदीले नियात्राको इतिहास कोट्याउँदै ‘जङ्गबहादुरको बेलायत यात्र’बाट सुरू भएको नियात्रा लेखनले डङ्गोलको बादलडाँडासम्म आउँदा अनगिन्ती घुम्ती पार गर्दै परिष्कारको भरोसालाग्दो विन्दुमा आफूलाई उभ्याएको बताए ।

अर्का परिचर्चाकार प्रा•डा• ऋषिराम शर्माले राजेन्द्रमान डङ्गोलका नियात्रा कविता जस्ता लाग्ने जिकिर गर्दै ‘लटारम्भेश्वरः एक मिथकीय लीलाभूमि’का अन्तिम केही हरफहरू कवितात्मक शैलीमा सुनाएका थिए ।

त्यसरी नै शेखर श्रेष्ठले हिमाली क्षेत्रको मात्र नभई पहाडलाई समेत समेटेर यहाँ विद्यमान प्रकृति र संस्कृतिको लयलाई पक्रन सफल डङ्गोल एक उम्दा नियात्राकार भएको दाबी गरे । मिथकीय प्रसङ्गले नियात्रारूपी सुनमा महकिलो सुगन्ध थपेको उनको कथन थियो ।

त्यसै गरी सञ्चारकर्मी तथा टिप्पणीकार गोविन्द लुइटेलले राजेन्द्रमान डङ्गोलको नियात्रा पढेपछि मात्र नियात्रा पनि पढ्नुपर्ने विधा रहेछ भनेर आफूले मनन गरेको किस्सा सुनाए । उनैका कृतिहरूले नै नियात्राप्रतिको दुर्भावना स्वाट्टै हटेको उनको जिकिर थियो । यसर्थ नै आफूले कृतिसमीक्षा लेखेको उनले अवगत गराए ।

पर्यटन व्यवसायी बोधराज भण्डारीले धेरै पहिलेदेखि राजेन्द्रमानको कविता सुन्ने गरेको उल्लेख गर्दै नियात्रा लेखनको शिल्प र शैलीबाट आफू उनको फ्यान नै बनेको खुलासा गरे । उनको लेखनको तौरतरिकाबाट आफैँलाई लेख्नका निम्ति उत्प्रेरणा मिलेको उनको अभिमत थियो ।

सुपरिचित प्रगतिशील कवि आरएम डङ्गोलले राजेन्द्रमान डङ्गोलको बहुआयामिक व्यक्तित्त्वबारे प्रकाश पारे भने गौतममान सिंहले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै नुवाकोटेली इतिहासको सङ्क्षिप्त फेहरिस्त प्रस्तुत गरे ।

राजेन्द्रमान डङ्गोलले उपस्थित सम्पूर्ण पाहुनाहरूलाई धन्यवाद ज्ञापन गर्दै नियात्रा लेखनका ऊहापोहबारे आफ्नो मन्तव्य राखे । कार्यक्रममा भैरवी माविका शिक्षक तथा विद्यार्थीहरूको पनि बाक्लो उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend