जन आकाश
भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छ् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए । एकदिनमा आठदेखि दश ओटासम्म डोका तयार गर्ने उनको भनाइ छ । डोका बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुने उनले जानकारी दिए ।
“चालीस वर्षअघिबाट डोका बुन्ने काम गर्दै आएको छु”, उनले भने, “एक दिनमा आठदेखि दश वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । डोकाबाट नै मेरो चिनारी बनेको छ ।” डोका स्थानीय बजारमा प्रतिगोटा रु तीन सय ५० देखि चार सयसम्ममा बिक्री हुने तामाङले बताए । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु सात÷आठ लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ ।
“डोका बुन्ने कामबाट राम्रै आम्दानी हुन्छ”, उनले भने, “यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक रु सात÷आठ लाख आम्दानी गर्न कठिन हुन्न । अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ ।” आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उनको भनाइ छ । डोकाको लागि विभिन्न ठाउँबाट माग हुने उनले बताए ।
“मैले बुनेको डोकाको लागि जिल्लाका विभिन्न ठाउँबाट माग हुन्छ”, उनले भने, “गाईबस्तुपालनसँगै खेतीपाती पनि गर्छु । कहिलेकहीँ त मागअनुसारको डोका पु¥याउन समस्या हुन्छ ।” आफूले बुनेको डोकालाई भोजपुर सदरमुकाममा लगेर बिक्री गर्दै आएको उनको भनाइ छ । बजारसम्म पुग्नको लागि घरबाट पाँचदेिख छ घण्टासम्म लाग्ने उनले बताए ।
“डोकाको माग धेरै ठाउँबाट आउँछ”, उनले भने, “यसको मुख्य बिक्री गर्ने ठाउँ भनेको भोजपुर बजार नै हो । बजारमा लगेर बिक्री गर्छु । मैले बुनेको डोका किन्न गाउँ÷गाउँबाट मानिस आउँछन् ।”सामुदायिक वनले कडीकडाइ गर्ने भएकाले कच्चा पदार्थ जुटाउन भने समस्या रहेको तामाङले बताए । मालिङ्गो काट्नको लागि वर्षमा एक पटक मात्र खुला हुने गरेको उनको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगाने लगायतबाट डोका बुन्दै आएको तामाङको भनाइ छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend