logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

विशिष्ट छन्द साधना पुरस्कारबाट कवि भुवनहरी सिग्देल र छन्दसाधना युवा पुरस्कारबाट कविराज पौडेल पुरस्कृत


  • जन आकाश
  • सोमबार, असोज २२ २०८०

जयराम विडारी 



काठमाडौ। ।छन्द-तरङ्गको पाँचौं बार्षिकोत्सवका अवसरमा एक बिशेष कार्यक्रमको आयोजना गरि भाषा साहित्यको क्षेत्रमा बिशेष योगदान पुर्याएका साहित्यिक क्षेत्रका नक्षत्रद्वय विशिष्ट छन्द साधना पुरस्कारबाट कवि भुवनहरी सिग्देल र छन्दसाधना युवा पुरस्कारबाट कविराज पौडेललाई पुरस्कृत गरिएको छ ।

पाठशाला नेपालको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको विशिष्ट आतिथ्यता एवं छन्द तरङ्गका संयोजक प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्व तथा बरिष्ठ साहित्यकार रमेश खकुरेलको आतिथ्यतामा सम्पन उक्त कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेद्वारा छन्दसाधक कविहरू भुवनहरि सिग्देल र कविराज पौडेललाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा मन्तव्यका क्रममाा बोल्दै सभामुख पौडेलले परापूर्वकालमा इतिहास, गणित ब्याकरण समेत श्रुति स्रवणमा सहज हुने हुनाले र तत्काल कण्ठ गर्नका साथै लामो समयसम्म स्मरणमा राख्न सहज हुनाले छन्दमा लेखिने र अहिले पूर्वीय दर्शनका ज्ञानगौरवहरू दिनदिनै लोप हुंदै जान थालेकामा हाम्रा चिनारीका रुपमाा रहेका छन्दका संरक्षण एवं सम्बर्द्वनमा कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालले खेलेको भूमिकाको प्रसंसा गर्नुका साथै छन्दसाधकद्वय सिग्देल र पौडेलले नेपाली छन्द कविताको क्षेत्रमा पुर्याएको योगदानको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गरेका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यको सुरुवात छन्दका माध्यम बाटै साहित्यको सुरुवात भएको बताउँदै केही समय देखि धीमा गतिमा रहेको छन्द अभियानलाई जीवन्त राख्न छन्द–तरङ्गले गरेका महत्वपूर्ण कामहरूको प्रसंसा गर्दै ज्ञवाली र नेपालको सत्कर्ममा आफ्नो सदैव साथ रहने बताउंदै पुरस्कृत कविद्वयलाई शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्रा.डा. देवी नेपालले छन्द–तरङ्गको अगुवाईमा कवि र कवितालाई व्यवसायिक बनाउने उद्देश्यले २०७५ बाट थालिएको टिकटमा कविता सुनाउने क्रम केही समय रोकिएको भएपनि त्यो क्रम पुनः सुचारू गर्ने बताउंदै गतबर्ष देखि पुरस्कारमाा नयाँ र पुराना दुवै पुस्ताको प्रतिनिधित्व हुने गरि ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ दिन थालिएको बताउंदै पुरस्कारको राशि समेत क्रमशः बढाउदै लगिने जानकारी गराएका छन् ।

स्वागत मन्तव्यका क्रममा डा. कृष्ण सुवेदी ‘भारद्वाज मित्र’द्वारा भाषा साहित्य र संस्कृति लाई बचाई राख्न तथा अंश नलाग्ने सम्पति आर्जनका लागि सिर्जनाले बिशेष महत्व रहने बताउंदै पुरस्कृत व्यक्तित्वद्वय लाई शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत वरिष्ठ कवि भुवनहरि सिग्देलले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको बताएका छन् भने ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत युवाकवि कविराज पौडेलले संस्कृत छन्दविधान र अङ्ग्रेजी छन्दविधानसम्बन्धी अत्यन्त प्राज्ञिक मन्तव्य प्रस्तुत गर्दै आफूमा गहन जिम्मेवारी थपिएकोले छन्द कविताको विस्तारका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै एक सशक्त छन्दकविता वाचन गरेका थिए ।

अन्त्यमा सभाध्यक्षको मन्तव्य राख्दै प्रा.डा. रामप्रसाद ज्ञवालीले छन्द–तरङ्ग केवल छन्द कविताको स्तरीकरण र मानकीकरणका लागि थालिएको अभियान मात्र नभएर स्रष्टा र सिर्जनामा हुनुपर्ने अनुशासन, संस्कार, सङ्कल्प, समर्पण, साधना र युगीन दायित्वबोधका लागि सुरु गरिएको सार्थक अभियान रहेको विचार व्यक्त गरेका थिए । सरोज घिमिरेद्वारा कुशलतापूर्वक सहजकर्ताको भूमिका निर्वाह गरिएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सुसम्पन्न गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend