logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

स्रष्टा पदयात्राको आफ्नो ७५ औँ शृङ्खला कीर्तिपुरमा


  • जन आकाश
  • सोमबार, असोज २२ २०८०

काठमाडौ । स्रष्टा पदयात्राले आफ्नो ७५ औँ शृङ्खला राजधानीस्थित कीर्तिपुरको सेरोफेरोमा सुसम्पन्न गरेको छ ।



त्रिभुवन विश्वविद्यालयको मूल प्रवेशद्वारबाट सुरू भएको पदयात्रा नेवा एफएम १०६•६ को परिसर घुमेर स्टेसन म्यानेजर वीरेन्द्र शाक्यको सहयोगमा प्रशारण अवलोकन गर्दै अघि बढ्यो ।

टोली बाघ भैरव र उमा-महेश्वर मन्दिर अवलोकन गरी मत्स्यनारायणमा गई एक कार्यक्रममा परिणत भयो ।

कार्यक्रममा जसध्वज गुरुङ, छविरमण सिलवाल, डिल्लीराज अर्याल, डिल्लीरमण सुवेदी, शान्ति सापकोटालाई सम्मान गरियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आयुर्वेद चिकित्सक तथा प्रकृतिप्रेमी समूहका अध्यक्ष उमेश श्रेष्ठले व्यक्ति स्वस्थ भए देश आफैँ स्वस्थ हुने जिकिर गरे ।

स्वास्थ्यका तीन सूत्र बताउँदै उनले उचित आहार, उचित विहार र उचित विचार हुने हो भने कोही अस्वस्थ हुनुनपर्ने दाबी गरे । शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक स्वास्थ्य भएमात्र व्यक्ति स्वस्थ हुने उनको कथन थियो ।

त्यसरी नै ध्रुव बस्नेतले खस्कँदो राजनीतिक मूल्यका कारण राजनीतिक दलहरूप्रति आकर्षण घटेकोले राष्ट्रलाई एकजुट पार्न सक्ने राजसंस्था चाहिएको परोक्ष रूपमा जिकिर गरे ।

भँगेरा संरक्षणका अभियन्तासमेत रहेका उनले भँगेराको उपयोगिताबारे उपस्थित जनमानसलाई अवगत गराए ।
यसरी नै स्थानीय ज्येष्ठ नागरिकहरू सानुबाबु आचार्य, लक्ष्य नारायण मानन्धर, देवलाल श्रेष्ठले मत्स्यनारायण देवलको महिमा गान गाए ।

सम्मानित स्रष्टा छविरमण सिलवालले आफू साहित्यमा कुनै वाद र विचार अँगालेर नहिँड्ने दाबी गर्दै लेखन कर्ममा लागेका हरेक सर्जकप्रति आफ्नो उत्तिकै सम्मान रहेको उनको भनाइ थियो ।

त्यस्तै अर्का सम्मानित स्रष्टा जसध्वज गुरुङले स्रष्टा पदयात्रासँग आफ्ना केही विमति रहे पनि नजिकबाट नियालिरहेको र नयाँ नयाँ स्रष्टा जोडिएकोमा सन्तोष व्यक्त गरे । आफूलाई स्रष्टा पदयात्राले सम्झेकोमा उनले सन्तोष व्यक्त गरे ।

संयोजक शीतल गिरीले पदयात्रासँग सम्बन्धित विषयमा विमर्श गर्दै आगामी मङ्सिर महिनाको पदयात्रा पर्वत जिल्लामा हुने सादर अवगत गराए भने बिमल अर्यालले स्रष्टा पदयात्राको आगामी योजना सङ्क्षिप्तमा प्रस्तुत गर्दै समग्र कार्यक्रमको सटीक समीक्षात्मक टिप्पणी गरे ।

लघुकथाकार तथा मुक्तककार लीलाराज दाहालले सहजीकरण गरेको सो कार्यक्रममा खोलाघरे साहिँला, बिमल अर्याल, डिल्लीराज अर्याल, रूबी सत्याल, नानीबाबा अधिकारी, वसन्त रिजाल, शान्ति सापकोटा, शारदा पराजुली, परशुराम परासर, निशा के•सी•, गङ्गाप्रसाद भेटवाललगायत करिब तीन दर्जन स्रष्टाले आआफ्ना रचना वाचन गरेका थिए ।

स्थानीय बुद्धिजीवी तथा योग गुरु केशव अधिकारीले योगको महत्त्वमाथि प्रकाश पार्दै प्रयोगात्मकरूपमा योग सिकाएर कार्यक्रमको औपचारिक समापन गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend