logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गङ्गाप्रसाद भेटवालकृत ‘पर्दाभित्र’ सार्वजनिक


  • जन आकाश
  • सोमबार, मंसिर १८ २०८०

जयराम बिडारी
काठमाडौ । नेपाली भषा साहित्यमा विशेष गरी लोक-साहित्य लगायत कविता, कथामा लामो समयदेखि कलम चलाइरहेका सामाजिक अभियन्ता तथा स्रष्टा पदयात्राका अथक सहकर्मी एवम् कानुन क्षेत्रका क्रियाशील गङ्गाप्रसाद भेटवालको समसामयिक यथार्थवादी उपन्यास ‘पर्दाभित्र’ सार्वजनिक भएको छ ।



त्रिभुवन विश्वविद्यालय नेपाली भाषा विभागका प्रमुख प्रा.डा.खगेन्द्र लुइटेलद्वारा शुभकामना मन्तव्य समेटिएको सामाजिक यथार्थवादी उपन्यासमा समाजका उपल्ला दर्जाका भनिने कथित सम्भ्रान्तवर्गको ‘मै खाऊँ मै लाऊँ’ भन्ने प्रवृत्तिलाई नङ्ग्याइएको छ ।

मानिस दृश्यमा जस्तो देखिन्छ यथार्थमा ऊ त्योभन्दा कैयन् गुणा फरक हर्कत गर्नमा खप्पिस हुनसक्छ । सीधा,सरल र शालीन देखिनेहरू पर्दाभित्र कतिसम्म फटाहा र धूर्त हुन्छन् भन्ने कुराको ज्वलन्त दृष्टान्तका रुपमा प्रस्तुत उपन्यासको कथानकले फन्को मारेको छ।

सामान्य दैनन्दिनी व्यतीत गर्नेहरूले क्षम्य दोषमा समेत कठोर सजायंका भागिदार हुनुपर्ने तर दिन दुगुन्ना रात चौगुना लुट्ने अभिजातवर्गले घटाएका असामान्य काण्डमा समेत उन्मुक्ति पाउने वर्तमान कानुनी तिकडमबाजीलाई सटीक ढङ्गले प्रस्तुत गरी अचेतन जिन्दगी बाँचेका आमजनसमक्ष भण्डाफोर गर्नु नै उपन्यासको अभीष्ट भएको भेटवालले जिकिर गरेका छन् ।

कृतिको समीक्षात्मक टिप्पणीका सिलसिलामा बद्रीप्रसाद ढकालले उमेर, बल, बैंश, पद र प्रतिष्ठाको दुरुप्रयोग गरी रातारात उन्नतिको शिखर चुमेका प्रतीत हुने किन्तु समाजमा लुकेका र लुकाइएका भ्रष्ट तथा पतितहरूले जीवनको उत्तरार्द्धमा आफ्ना कुकृत्यका फर्दाफासका कारण बेचैनी र छटपटी भएको विषय प्रस्तुत उपन्यासले समेटेको दाबी गरेका छन् ।

समाजको उच्च तहका नेतृत्व, व्यापारी,उच्च पदस्थ कर्मचारी, वकिल, न्यायाधीश भनाउँदाले पापाचार, भ्रष्टाचार र अनैतिक कार्यद्वारा आर्जित अकुत सम्पत्ति कुम्ल्याएको वर्तमान सन्दर्भमा देशलाइ खोक्रो पार्न उद्यत तिनले शारीरिक,मानसिक, पदीय र पहुँच सकिएपछि भोग्नु परेको बेचैनीलाई पनि सुस्पष्ट प्रस्तुत गरिएको उनको भनाइ छ ।

गुरु, पुरोहितलगायत ज्योतिषीय परामर्शका आधारमा स्वस्ति, शान्ति गरेर पापकट्टी गर्न समाजमा पुनः धार्मिक आडम्बर प्रकटीकरण गरिरहेका हुनाले तिनका कर्तुतको धज्जी उडाइएको छ ।

अनुसन्धान विमर्श नेपालले प्रकाशन गरेको प्रस्तुत कृति ‘पर्दाभित्र’को प्राज्ञिक बुक्स, बागबजारले मुख्य वितरकको भूमिका निर्वाह गरेको छ । समाजमा सफेद देखिने किन्तु काला कर्तुतले भरिएका पात्रहरूका सम्बन्धमा विशद् अध्ययनका लागि ‘पर्दाभित्र’ सर्वोत्तम स्रोत बन्न सक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend