logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मनोहरा साहित्य समाजको आठौं वार्षिकोत्सवको अवसरमा सात स्रष्टा सम्मानित


  • जन आकाश
  • आइतबार, पुष १५ २०८०

काठमाण्डौ । मनोहरा साहित्य समाजले स्थापनाको आठौं वार्षिकोत्सव तथा ८४औं नियमित रचनावाचन शृङ्खलाको अवसर पारेर विभिन्न बिधाका सातजना साहित्यकारहरुलाई प्रशंसा,सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ ।



मनोहरा स्थित ग्लोबल पब्लिक स्कुलमा आयोजित कार्यक्रममा बद्रीनाथ-अभिनव छन्दोवद्ध कविता पुरस्कारबाट पुरस्कृत समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व तथा वरिष्ठ साहित्यकार प्रह्लाद पोखरेलको प्रमुख आतिथ्यताका साथै साहित्यकार प्रतीक ढकाल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेल,डा.रमेश शुभेच्छु तथा ग्लोबल पब्लिक स्कूलका प्राचार्य मातृका कार्कीको समपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि प्रह्लाद पोखरेलद्वारा दीप प्रज्ज्वल गरी समुद्धाटन गरिएको सो कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानबाट गरिएको थियो, भने सभाध्यक्ष अर्यालले भूपि तथा लेखनाथको सम्झनामा उनका केही रचना वाचन गरेर सहभागीहरुलाई स्वागत मन्तव्य पश्चात रचनावाचन प्रारम्भ गरिएको थियो।

उक्त प्रशंसा-पत्र वितरण सम्मान तथा अभिनन्दन कार्यक्रममा समाजका कोषाध्यक्ष तथा साहित्यकार खोलाघरे साहिंलोद्वारा सम्मानित ब्यक्तिहरुको ब्यक्तित्व परिचय गराउनुका साथै सुमन पुडासैनी तथा सम्पत् काफ्लेले सम्मान अभिनन्दन पत्र वाचन गरेका थिए । सो अवसरमा नेपाली शिक्षा परिषद् लेखनाथ साहित्य सदनकी अध्यक्ष करिव ३ दर्जन मान-सम्मान बाट सम्मानित साहित्यकार रमा शर्मा,आख्यानकार तथा कम्प्यूटर हार्डवेयरका ज्ञाता,कक्षा १२ को नेपाली बिषयको पाठ्यक्रममा रहेको गोर्खे शिर्षकका बिज्ञानकथाका कथाकार ,६ वटा उपन्यास लेखिसकेका उपन्यासकार बखतबहादुर थापा, नियमित रचना वाचन गर्नेहरूमध्येबाट डेढ़ दर्जन जति पुस्तक प्रकाशित गरिसकेका गद्य पद्य दुवै बिधाका सिद्धहस्त निर्भीक साहित्यकार रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ , क्रिकेटका पूर्व अञ्चलस्तरीय खेलाडी गीत कथा कविता निवन्ध लेखनमा थुप्रै पटक पुरस्कृत भइसकेका अभिनव साहित्य समाजका कोषाध्यक्ष घनश्याम प्रसाईं , संस्थापक सदस्यहरुबाट स्रष्टा पदयात्राका संयोजक ,मनोहरा साहित्य समाजका परिकल्पनाकार तथा जीवाश्म निवन्ध संग्रह, तपोधन उपन्यासका लेखक प्रकाशोन्मुख कृति आरम्भका सर्जक शितल गिरी,कथा कविता, निवन्ध, बाल साहित्य तथा उपन्यास लगायत साहित्यका सवै बिधामा निपूर्ण सिद्धहस्त लेखक,मनोहरा साहित्य समाजका परिकल्पनाकार मध्यका एक प्रकाशमणि दाहाल, लगायत शिक्षण तथा प्रशासनिक क्षेत्रमा संलग्न भई आफ्नो सम्पूर्ण सम्पत्ति क्याम्पसलाई प्रदान गरेका महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका संस्थापक प्राचार्य मनोहरा साहित्य समाजका परिकल्पनाकार मध्य शिर्ष ब्यक्तित्व डा. खगेन्द्रनाथ शर्मा लाई सम्मानित गरिएको थियो ।

सम्मानित ब्यक्तित्वहरुले समाजबाट प्राप्त सम्मान अभिनन्दन र प्रशंसाले लेखन कर्मलाई थप जिम्मेवार बन्न प्रेरित गरेको बताउँदै कृतज्ञताब्यक्त गर्दै रचना वाचन गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि प्रतीक ढकाल, विजयराज पौडेल,मातृका कार्की, लगायत गोविन्द घिमिरेले साहित्यिक उन्नयनका कर्ममा समाजले निरंतर क्रियाशील रही आम पाठकको मन जित्नु पर्नेमा जोड दिंदै सम्मानित भएका साहित्यकारहरुलाई शुभकामना व्यक्त गर्दै आ-आफ्ना रचना बाचन गरेका थिए भने अर्का बिशिष्ट अतिथि गोविन्द घिमिरे ‘वेदमणिले’ आफूले मनोहरा साहित्य समाजको अक्षयकोषका लागि रु एक लाख प्रदान गर्ने घोषणा गरेका थिए ।

उक्त कार्यक्रममा डिल्लीप्रसाद मूलतिहुन, नारायण जनकपुरी, ओमप्रसाद कोइराला, रुबी सत्याल, उषा बस्ताकोटी खनाल, शीतल गिरी, घनश्याम प्रसाईं, बखतबहादुर थापा, केशव ज्ञवाली, भोजराज रेग्मी ‘मुखाले’ सरिता घिमिरे, धरणी गुरागाईं, पि टि बराकोटी, बुद्धिसागर पौडेल, रुद्र अधिकारी, सूर्यप्रसाद डुम्रे, राजेन्द्रकुमार बज्राचार्य, माधवलाल श्रेष्ठ, टि एन भट्ट ‘विश्वामित्र’ भावना न्यौपाने, प्रेमनाथ घिमिरे, ठाकुर प्रसाद खतिवडा, सारदा पराजुली, परशुराम पराशर लगायतका स्रष्टाहरूले रचना वाचन गरेका थिए ।

कार्यक्रममा डा.रमेश शुभेच्छुले वाचित रचनामाथि समीक्षात्मक टिप्पणीसहित आफ्नो रचना सुनाएका थिए भने प्रमुख अतिथिको रुपमा बोल्दै पोखरेलले सृजनाले युगको आवाज बोल्नु पर्ने र समाजलाई दिशानिर्देश गर्नुपर्ने बताउंदै समाजको उज्वलताको कामना गरे । सयौं स्थापित साहित्यकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा समाजका उपाध्याक्ष जसध्वज गुरुङले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम भावकेशर बरालले कुशलता पूर्वक सञ्चालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend