logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नागार्जुनको सुप्रभात काव्यगोष्ठी सम्पन्न


  • जन आकाश
  • बुधबार, पुष २५ २०८०

काठमाडौ । नागार्जुन वाङ्मय प्रतिष्ठान (साविकको नागार्जुन साहित्यिक प्रतिष्ठान)को तेस्रो शनिवार नियमित रूपमा सञ्चालित सुप्रभात काव्य गोष्ठी प्रगतिवादी कवि, समालोचक तथा स्तम्भकार केशव सिलवालको प्रमुख आतिथ्यमा यही पौष २१ गते शनिवार सुसम्पन्न भएको छ ।



गोष्ठीमा एक दर्जन बेसी स्रष्टाहरूले आआफ्ना रचना वाचन गरे । रचना वाचनको दैलो उघार्दै सुशीला शर्माले शार्दूलविक्रिडीत छन्दको रचना वाचन गरिन् ।

त्यसरी नै सुजिता ‘अविरल’ले लोकछन्दको कविता सुनाइन् । अर्का कवि तथा बालसाहित्यकार रामदेव पाण्डेले मुक्तछन्दको कविता प्रस्तुत गरे ।

रचना वाचनको सिलसिलामा आख्यानकार केशव घिमिरेले दिल पौडेलको हालै प्रकाशित कृति ‘मेरो देशको सेल्फी’बाट ‘रङ नम्बर’ कविता पाठ गरे भने शिवहरि पाण्डेले मुक्तछन्दको कविता सुनाए । त्यसैगरी माधव घिमिरे ‘अटल’ले हालै इजरायली आतङ्ककारी आक्रमणमा निशाना बनाइएका चर्चित प्यालेस्टाइनी लेखक रफात अलिरको कविता ‘कथं मर्नैपर्यो भने’ तथा दिल पौडेलकृत ‘भीमानको सालिक’ वाचन गरे ।

रचना पस्कने सिलसिलामा युवराज ‘नास्तिक’ले दिल पौडेलको कृतिबाट ‘मुर्रा राँगा’ तथा आफ्नो एउटा सिर्जना पस्के । नवीन पल्लभले गजल गुनगुनाए । यदुनाथ वसन्तपुरेले लोकलयमा आफ्नो सिर्जना सुसेले । अर्पणा खड्काले महिला दलनबारे आफ्नो रचना पस्किन् ।

देशपोस्टका सम्पादक लोकमणि रिजालले दिल पौडेलकै कृतिबाट ‘कर्मचारी’ शीर्षकीय सिर्जना सुनाए । दिल पौडेलले आफ्नै पुस्तकबाट ‘बुढो मसान’ शीर्षकीय रचना वाचन गरे ।

प्रमुख अतिथि प्रगतिवादी कवि केशव सिलवालले वाचित सबै रचनाबारेको साङ्गोपाङ्ग टिप्पणी गर्दै केही मानक ठानिएका रचनाको विशद शल्यक्रिया गरे ।

उनले हाम्रा सिर्जनालेझुपडीकोआवाज र दमित स्वर उराल्नुपर्ने जिकिर गरे । प्रगतिशील सिर्जनालाई प्रतिध्रुवीय सर्जक र समालोचकले नारा मात्र भन्ने गरेकोतर्फ इङ्गित गर्दै कवितामा कवित्व हुनैपर्ने दाबी गरे । ‘चिबेचरो’ जस्तो विशेष कृतिका सर्जक सिलवालले दिल पौडेलको व्यक्तित्व र कृतित्वबारे महत्वपूर्ण भनाइ राख्दै ‘मेरो देशको सेल्फी’बारे पनि अनौपचारिक टिप्पणी गरे ।

कार्यक्रमको प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले अध्यक्षता गरेका थिए भने युवराज काफ्लेले सहजीकरण गरेका थिए । अर्को कार्यक्रम आगामी माघको २० गते हुने सविनय अवगत गराउँदै अध्यक्ष पौडेलले कार्यक्रमको बिट मारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend