जन आकाश
काठमाडौ । ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने ध्येयले स्थापित गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ- नेपाल) को यही माघ ४ गते सुसम्पन्न पूर्ण बैठकले आगामी चैत १७ गते (३० मार्च २०२४) शनिबारका दिन संस्थाको २६औँ वार्षिक साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष गोपाल थापाका अनुसार, भिटोफले सहरमुखी पर्यटनलाई ग्रामीण भागमा पुर्याएर समग्र गाउँको विकास गर्ने उद्देश्य राखेको छ । पर्यटनका अथाह सम्भावना भएका तर प्रचारप्रसारको अभावले पछाडि परेका क्षेत्रहरूलाई प्रचारप्रसार तथा विभिन्न सङ्घसंस्थासँग समन्वय गरी प्रवर्द्धन गर्ने कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो । यसले हरेक वर्ष नेपाल पर्यटन बोर्डसँग परामर्श गरी सेप्टेम्बर २७ मा नेपालभरिबाट तीनवटा गाउँ गन्तव्य घोषणा गर्दै आएको उहाँको कथन थियो ।
यसरी नै हरेक वर्ष घोषणा गरेका गाउँ गन्तव्यमध्ये बाट उत्कृष्ट घरबासलाई पुरस्कृत गर्ने गर्ने गरेको भिटोफ नेपालका पूर्व अध्यक्ष बोधराज भण्डारीले बताउनुभयो ।
भिटोफले बिदेसिन तम्तयार युवाहरूलाई थोरै भने पनि रोक्न सक्ने उहाँको दाबी छ । त्यसरी नै ग्रामीण पर्यटन प्रवर्धन गर्न सकियो भने आन्तरिक पर्यटनलाई सबै याममा सञ्चालन गर्न सकिने उहाँको तर्क छ ।
यसैबीच अध्यक्ष थापाले संस्थाको सदस्यता नवीकरण यही माघ मसान्तभित्र गरिसक्नुपर्ने पनि अवगत गराउनुभएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend