logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

साहित्यकार तिलकप्रकाशको मेरो कथा मेरो व्यथा र कृतिहरूका भूमिका सार्वजनिक


  • जन आकाश
  • आइतबार, फाल्गुन १३ २०८०

राजेश दिदिया



भक्तपुर– उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आउनुभएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उहाँका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन भएको हो । भक्तपुरको दूधपाटीस्थित तिशा इन रेस्टुरेन्टमा तिशा ट्रस्टले आयोजना गरेको एक कार्यक्रमबिच लेखक तिलक प्रकाशका दुई कृतिहरू ‘मेरो कथा, मेरो व्यथा’ र ‘तिलक प्रकाशका कृतिहरूका भूमिका’ नामक दुई कृति विमोचन क्रमशः पूर्व सभामुख दमननाथ ढुङ्गाना र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले गर्नुभएको हो  ।

कार्यक्रममा पूर्व सभामुख ढुङ्गानाले नेपालको राजनीतिक क्षेत्रमा तिलक प्रकाशको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक रूपमा निष्ठा वान व्यक्ति भएर पनि छलछामको राजनीति गर्न नजान्दा पछि परेको उल्लेख गर्दै साहित्यिक कर्मले तिलक प्रकाशको छवि उच्च बनेको चर्चा गर्नुभयो  ।

उहाँले साहित्यका र तिलक प्रकाशको जीवनका साथै विभिन्न लेख र विचारहरूबाट वर्तमान राजनीतिक व्यक्तिहरूले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको राजनीतिमा इमान हराउँदै जाँदा राजनीतिप्रति नै नयाँ पुस्ताको वितृष्णा बढिरहेको कारण राजनीतिक दलका नेताहरू सुध्रिनुपर्ने चर्चा गर्नुभएको थियो  ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् साहित्यकार विमल निभाले लेखक तिलक प्रकाशको साहित्य उँचो रहेको बताउनुभयो । उहाँले तिलक प्रकाशलाई राजनीतिले भन्दा साहित्यले परिचित बनाएको उल्लेख गर्दै उहाँको नवीनतम कृतिका साथै वीर ग्रन्थ नामक पुस्तकबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गर्नुभयो । उहाँले लेखक तिलक प्रकाशमा राजनीतिक मात्र नभएर ऐतिहासिक चेत समेत रहेकाले वीरहरूको जीवनी लेखन गरेर नेपाली साहित्यमा ठुलो योगदान दिएको जनाउनुभएको थियो ।

कार्यक्रममा अर्का लेखक एवम् चिन्तक ओमचरण अमात्यले लेखक तिलक प्रकाशको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै आफ्नो पुस्तकमार्फत जनाएको अभिव्यक्तिप्रति राजनीतिक दलहरू र नेपालीहरू सचेत हुनुपर्ने जनाउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी सन्जिब दुलाललाई तिशा इनले लेखन वृत्ति समेत प्रदान गरेको थियो । तिशा इनले हरेक वर्ष भक्तपुरको कला, साहित्य, संस्कृति, लेखन विधामा क्रियाशील व्यक्ति तथा सङ्घसंस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ । सोही सिलसिलामा यस वर्ष पत्रकार दुलाललाई नगद पचास हजार पाँच रुपैयाँ प्रदान गरिएको तिशा इनका सञ्चालक प्रशान्त कायस्थले बताउनुभयो ।
कार्यक्रममा लेखक तिलक प्रकाशले आफूले जीवनमा भोगेका, अनुभव गरेका विषयहरूलाई समावेश गरी आत्मवृत्तान्त लेखेको बताउनुभयो । कार्यक्रममा उहाँले सो पुस्तकका साथै अन्य पुस्तकहरू प्रकाशनमा सहयोग गर्ने अगिब बनेपानी र सुमि बनेपालीलाई सम्मान गर्नुभएको थियो  ।
कार्यक्रममा तिशा ट्रस्टका रन्जन कायस्थले पुस्तक प्रकाशन गर्नुको कारणबारे उल्लेख गर्दै आगामी दिनमा पनि विभिन्न साहित्यिक गतिविधि गर्ने बताउनुभयो ।

८९ वर्षीय लेखक एवं साहित्यकार तिलक प्रकाशका ८ वटा नेपाल भाषाका र ८ वटा नेपाली भाषाका विभिन्न पुस्तकहरू प्रकाशन भई सकेका छन् । हालका दिनमा समेत दैनिक १८ घण्टा सम्म पुस्तकमा नै रमाउने कायस्थका प्रकाशित कृतिहरूमा योमरी उक्ति सङ्ग्रह, धनमाया लघु खण्डकाव्य, यौन ज्ञान मनोविज्ञान, नगःजः निबन्ध सङ्ग्रह, ख्ववि झसुका शोक काव्य, वयागु हाथ्या कथा सङ्ग्रह, उत्सर्ग कविता सङ्ग्रह, परिवार नियोजन के हो किन कसरी , यौन ज्ञान मनो विज्ञान, शारदा शोक काव्य, लक्ष्मण रेखा निबन्ध सङ्ग्रह, झुक्न नजानेको राष्ट्रवादी नेता बिपी कोइराला, वीर ग्रन्थ ६० सपूतहरूको गाथा लगायतका पुस्तक प्रकाशन भई सकेका छन् । दैनिक जसो कलम कापीलाई नै साथी बनाएर बस्ने तिलक प्रकाशका दैनिक पत्रपत्रिका तथा विभिन्न अन्य पुस्तक तथा जर्नल एवं पत्रपत्रिकामा लेख रचनाहरू प्रकाशित हुँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend