logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

इन्द्रेणी पर्यटन सम्मेलनको रजिस्ट्रेसन खुल्ला


  • जन आकाश
  • बिहिबार, फाल्गुन १७ २०८०

काठमाडौं । विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिलो इन्द्रेणी पर्यटन सम्मेलन नेपालमा हुँदैछ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले सम्मेलन आयोजना गर्न लागेको हो ।  सम्मेलन अप्रिल २० र २१, २०२४ मा छाया सेन्टर नजिकै एलफ्ट होटेलमा हुनेछ ।



सम्मेलनमा सहभागी हुनका लागि मायाको पहिचान नेपालले रजिस्ट्रेसन खुल्ला गरेको छ । नेपालमा इन्द्रेणी पर्यटनको सम्भावना बारे मायाको पहिचान नेपालले निरन्तर छलफल गरिरहेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा मायाको पहिचान नेपालले समावेशी (रेन्बो)  पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्श सम्पन्न गरिसकेको छ ।

पर्यटन बोर्डले समावेशी (रेन्बो) पर्यटन प्रवर्द्धनका लागि पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तलाई सांस्कृतिक दूत नियुक्त गरेको छ । सांस्कृतिक दूत नियुक्त पन्त विश्वका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको न्याय र समानतासँगै रेन्बो पर्यटन प्रवर्द्धन गर्ने अभियानमा लागेका छन् ।

नेपाल विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई स्वागत गर्ने तयारीमा जुटेको छ ।  सांस्कृतिक दूत नियुक्त पन्तले गरिबी निवारण, आर्थिक संवृद्धिका लागि इन्द्रेणी पर्यटन महत्त्वपूर्ण बन्ने बताए । नेपालमा अहिलेसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि विभेद छैन । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि फ्रेण्ड्ली वातावरण छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीका लागि हनिमुन डेस्टिनेसन नेपाल हुन सक्ने पन्तले बताए । नेपाल दक्षिण एसियामै इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो देश बनेको छ । माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले लमजुङको दोर्दी गाउँपालिकामा कानुनी रूपमा विवाह दर्ता गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend