जन आकाश
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस “विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृत जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा”भन्ने मूलनाराका साथ देशव्यापी रूपमा मनाइएको छ ।
यसै उपलक्ष्यमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिकरूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअल रूपमा सहभागिता रहेको थियो । रेडक्रसका युवा स्वयंसेवकहरूको सक्रियता र व्यवस्थापनमा सञ्चालित सो कार्यक्रमको उद्घाटन युवा स्वयंसेवकहरू रविना चौंलागाईं र सुरजकुमार सिंहले संयुक्तरूपमा गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्यएवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपाल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष प्राध्यापक नेपालले रेडक्रसमा आवद्ध जुनियर युवाहरूलाई मानवीय सेवाका विभिन्न गतिविधिहरूमा सहभागी गराउँदै उनीहरूको सीप र दक्षता अभिबृद्धि गरी अगाडि ल्याउने संस्थाको उद्देश्य रहेको बताए ।
जलबायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न हाल रेडक्रसका युवाहरूबाट सञ्चालन भइरहेको परिवर्तक(द चेन्जमेकर) अभियानबाट महत्वपूर्ण योगदान पुग्ने बताउँदै अभियानको पूर्ण सफलताको कामना गरे । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले नीतिगत र कार्यक्रमगत तहमा युवाहरूको भूमिकालाई विधानमा कसरी व्यवस्थित गरेर लैजान सकिन्छ भनेर छलफल र सुझाव संकलन गरिरहेको जानकारी गराए ।
कार्यक्रमका सभापति एवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालले जुनियर युवा रेडक्रसको इतिहास माथि प्रकाश पार्दै सबै जिल्लाका शिक्षण संस्था र समुदायमा जुनियर तथा युवाहरूको संलग्नतामा मानवीय सेवा प्रदान गर्ने सञ्जालको रूपमा नेपाल जुनियर र युवा रेडक्रस सर्कलहरूको स्थापना, विकास र विस्तार हुँदै आएको बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend