logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा सञ्चालन


  • जन आकाश
  • बिहिबार, फाल्गुन २४ २०८०

काठमाडौं ।  बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत महामहिम डा. डेनियल मेउलीले शिक्षा तालिम केन्द्र धुलिखेलमा आज मिति २०८० फागुन २३ गते वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन एवम् डिजिटल प्लेटफर्मको संयुक्त रुपमा उद्घाटन गरे ।



उक्त केन्द्रमा सञ्चालन गरिएको वृत्ति मार्गनिर्देशन सेवा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहित युवाहरूलाई व्यक्तिगत र सामूहिक परामर्श मार्फत प्रदान गरिनेछ । वृत्ति मार्ग निर्देशन सेवाबाट पेशाको बारेमा जानकारी गराई उपयुक्त वृत्ति मार्ग छनोट गर्न‚ पेशा अपनाउन र रोजगारीको बजारसँग जोड्न मद्दत गर्नेछ। वृत्ति मार्गनिर्देशन सहजकर्ता र मनोविज्ञानमा ज्ञान भएको परामर्शकर्ताहरुबाट सेवा प्रदान हुनेछ ।

त्यसै गरी प्रदेश मन्त्रालयको वेबसाइटमा रहेको डिजिटल प्लेटफर्ममा योग्यता परीक्षण गरि उनीहरूको रुचि, खुबी र श्रम बजारको मागको आधारमा सम्भावित वृत्ति मार्गहरू पहिचान गरिनेछ । प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा विद्यालय र रोजगार सेवा केन्द्र मार्फत यो सेवा विस्तार गर्नेछ ।

उद्घाटन कार्यक्रमको प्रमुख अभिभावक एवम् बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानले दक्ष र समर्पित व्यक्तिको विकासमा वृत्ति मार्गनिर्देर्शन महत्त्वपूर्ण छ त्यसैले स्थानीय सरकारसँगको सहकार्यमा सेवाको सुदृढीकरण र विस्तार गर्न प्रदेश सरकारले आवश्यक स्रोत सधानको व्यवस्था गर्न प्रतिबद्ध छ ।

प्रदेश सरकारले वृत्ति मार्गनिर्देर्शन सेवा स्थानीय तहसँगको समन्वय र सहकार्यमा सञ्चालन गर्न प्रदेशको शिक्षा नीतिमा यसलाई समावेश गरिएको  बताए । नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत महामहिम डा डेनियल मेउलीले भने “स्विट्जरल्याण्डले शिक्षा, नवप्रवर्तन र युवा सशक्तिकरणमा गहिरो प्रतिबद्धता गरेको छ ।

वृत्ति मार्गनिर्देर्शन सेवा केन्द्रले शिक्षा र रोजगारीबीचको खाडललाई कम गर्न, सूचना एवम् तथ्याङ्कका आधारमा युवाहरुले निर्णयहरू लिन र उनीहरूको व्यक्तिगत र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने अवसरहरू प्रयोग गर्न सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend