logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

साहित्य र पर्यटन प्रवर्द्धनका लागि स्रष्टाहरुको जमघट


  • जन आकाश
  • आइतबार, फाल्गुन २७ २०८०

जयराम बिडारी



काठमाण्डौ । नियात्रा लेखनका क्षेत्रमा सक्रिय प्रशिद्ध नियात्राकार तथा पर्यटन व्यवसाय राजेनिद्रमान डङ्गोलको संयोजनमा साहित्य र पर्यटनलाई समन्वय गर्ने उद्देश्यले राजधानीको एअरपोर्टस्थित एपेक्स बिजनेस होटलमा कवि भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सुसम्पन्न भएको छ ।

उक्त कार्यक्रम हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यता तथा नेपाललाई अन्तर्राष्ट्रीय क्षेत्रमा परिचित गराउन हनी हण्टर लगायत नेपाली सिने जगतलाई ओस्कर अवार्डमा मनोनित गराउन अहम् भूमिका खेलेका क्याराभान चलचित्रका निर्देशक एरिक भ्यालीको विशेष आतिथ्यतामा एपेक्स बिज्नेस होटलका जनरल मेनेजर सुरेश श्रेष्ठको आतिथ्यका साथै साहित्यकार तथा साहित्यानुरागीहरूको बाक्लो उपस्थितमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथिको मन्तव्यका क्रममा शेर्पाले हेलम्बुको बृहत्तर विकासका लागि आफ्नो गाऊँ पालिकामा १२ कक्षा सम्मको शिक्षा,स्वास्थ्य सेवा विद्यार्थीका लागि पोसाक बिरामीका लागि एम्बुलेन्स, संस्कृत तथा शम्भोटाको पठनपाठन, निःशुल्क रुपमा उपलब्ध गराउन सफल रहेको सगर्व घोषणा गर्दै सरकार खोई भन्ने हरुका लागि आफूले थुप्रै नमुना कामको थालनी गरेको बताएका छन् ।

पर्यटन प्रवर्द्धनका लागि महत्वाकांक्षी ६० किलोमीटर लामो ग्रेट ट्रेल निर्माण गर्ने योजना अन्तर्गत हाल करिव ६ किलोमीटर निर्माण गरिसकिएको बताउँदै हेलम्बु काठमाण्डौवासीका लागि खानेपानीको श्रोतको रुपमा रहेको र करिव ६० लाखको हाराहारीमा काठमाण्डौमा बसोबास गरिरहेका काठमाण्डौवासी मध्य दश प्रतिशत मात्रले पनि आफूले दैनिक उपभोग गर्ने गरेको पानीको मुहान कस्तो छ भनेर अवलोकन भ्रमण मात्रै गर्न सकेको खण्डमा पनि हेलम्बुको समग्र विकासमा उल्लेखनीय परिवर्तन गर्न सघाउ पुग्ने बताउँदै राजनीतिकर्मीलाई साहित्यिक गतिविधिका बारेमा यथेष्ट संयोग नजुर्ने बाध्यात्मक अवस्था रहेपनि साहित्यकारहरुले आफ्ना सृजनाको कर्ममा यस्ता विकास निर्माण लगायत सकारात्मक कुराहरुलाई उजागर गर्नुपर्नेमा जोड दिएका छन् ।

उक्त अवसरमा जयन्ती सत्याल ‘स्पन्दन’ द्वारा शान्तिको कामना गर्दै रचना वाचन, सुपरिचित कवि राजेन्द्र सलभद्वारा अन्तर्राष्ट्रीय नारी दिवसको सन्दर्भका श्रीमती माइत जाँदाको बेचैनी अवस्था,कवि अलका मल्लद्वारा पर्यावरणीय ‘स्तब्ध पृथ्वी, देशपोस्टका सम्पादक लोकमणि रिजालद्वारा कविता, नियात्राकार तथा कवि नन्दु उप्रेतीद्वारा नारी शक्तिको महिमागान गर्दै ‘ओ बीराङ्गना’ कविता वाचन गरेका थिए । यसैक्रममा राजेन्द्रप्रसाद अधिकारीद्वारा ‘मृत्यु एक भ्रम र यथार्थ’छन्द कविता, कवि तथा ललितपुरका सहायक प्रजिअ अमरदीप सुनुवारद्वारा ‘परिक्षा’ कविता, ईश्वर थोकरद्वारा बिरामीहरुमा समर्पित रहने ‘नर्स’ कविता, रामहरि अधिकारीद्वारा ‘फेरी गल्ति नहोस्’ बहुआयामिक सर्जक महेश प्रसाईंद्वारा ‘बुद्ध नजन्मिएको भए के हुन्थ्यो’ ? कविता,जयराम बिडारीद्वारा ‘मुक्तक’ वाचन गरेका थिए ।

यसैक्रममा सूचक प्रकाशनका अध्यक्ष तथा कवि दीपक भेटुवालद्वारा ‘छोरो ‘कविता नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलद्वारा समसामयिक राजनीति लक्षित ब्यङ्ग्य कविता ‘मेयरसाव’ पार्वती भट्टद्वारा देउडा, नवीन पल्लवद्वारा बिकृत ब्यवस्थाका बिरुद्ध ‘मतदान’ कविता,प्राज्ञ लक्ष्मी मालीद्वारा हेपिएका वर्गका महिला श्रमिकका बारेमा लेखिएको ‘मनमाया’ कविता,यमबहादुर ज्योतिद्वारा सर्वनाशको रुपमा प्रस्तुत मेलम्चीका सम्बनधमा ‘किन आयौ तिमी’ कविता,कवि तथा पत्रकार एवं समिक्षक माधव घिमिरे ‘अटल’द्रारा ‘अस्तित्व संकट’ कविता,पुष्पराज कर्णिकारद्वारा नेपालभाषी कविता, प्रख्यात कवि स्नेह सायमीद्वारा लेखिएका कविता भावको गहिराइमा तैरिन सामर्थ्य राख्न अनि सम्प्रेषणका लागि योग्य छन् कि छैनन् भन्दै प्रख्यात कवि स्नेह सायमीद्वारा ‘काठमाडौं’ शिर्षकको कविता वाचन गरेका थिए, भने कवि रुबि सत्यालद्वारा ‘अछुत जून’भित्र बाट ‘मनको मदानी’ कविता, कार्यक्रम प्रस्तोता, कवि तथा नाटककार लक्ष्मी रूम्बाद्वारा पर्यावरणीय सचेतनामा आधारित ‘जङ्गल एक सपना’ शिर्षकका आआफ्ना रचना वाचन गरेका थिए ।

एपेक्स बिजनेस होटलका महाप्रबन्धक सुरेश श्रेष्ठले आफू पनि साहित्य,कला,गीत र संगीतको पारखी रहेको बताउंदै यति धेरै संख्यामा उपस्थित साहित्यकारहरु संग साहित्यिक विमर्श गर्न पाएकोमा पुलकित हुँदै आभार ब्यक्त गरेका थिए । कार्यक्रमको संयोजक समेत रहेका राजेन्द्रमान डङ्गोलले सभापतिको पर्यटन र साहित्यलाई सँगसँगै अघि बढाउनका लागि समेत यस्ता कार्यक्रमले प्रभावकारी भूमिका खेल्न मद्धत गर्ने बताउँदै ‘लाङटाङको सम्झना’ कविताका साथ कार्यक्रमको समापन गरेका थिए । चर्चित संचारकर्मी लक्ष्मी रूम्बाद्वारा कार्यक्रमको सहजीकरण गरिएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend