जन आकाश
सिन्धुपाल्चोक । यहि चैत ९ र १० गते हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका बुद्धराज बस्नेतले आफू विगत लामो समयदेखि जिल्लाका ब्यापारी ब्यावसायीको हितका लागि काम गर्दै आएकाले आफु विजयी हुने आधार भएको बताएका छन् । हालका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) को प्रस्तावकमा उम्मेदवारी दर्ता गरेका उनले आफ्ना एजेण्डाहरु समेत अघि सारेका छन् ।
बस्नेतले आफू नेतृत्वमा आए दलगत स्वार्थमा नलाग्ने प्रतिवद्धता ब्यक्त गरे । बस्नेतले हाल जिल्लामा सञ्चालमा रहेका साना वा घरेलु उद्योग, मझौला उद्योगहरुसँग समन्वय गरेर बजारीकरणको लागि पहलकदमी लिने बताए । अहिले संघमा जिल्लाका सबै क्षेत्रलाई समान रुपले समेट्न नसकेकाले आफूले जिल्लाभर रहेका १०३ वटै वडाका साना ठुला उद्योगी, व्यावसायीहरुलाई संघमा आवद्ध गराउने दृढता ब्यक्त गरे ।
उनले सिन्धुपाल्चोक जिल्लाको ब्यापार बिस्तारमा प्रमुख भूमिका रहेको नेपाल र चीनबीचको पहिलो ब्यापारिक नाका तातोपानी नाकालाई पूर्ण रुपमा सञ्चालन गरी पुर्ववत अवस्थामा ल्याउन आफू सदैव लाग्ने प्रण गर्दै यसका लागि सम्बन्धित निकायहरुसँग विशेष पहल गर्ने बताए । पछिल्लो समय कृषि पेशालाई कसैले पनि प्राथमिकतामा नराखेको उल्लेख गर्दै कृषिको विकासबिना देश समृद्ध हुन नसक्ने भएकाले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गरेर व्यावसायिक रुपमा अगाडि बढाउन संघले प्राथमिकताका साथ काम गर्ने बताए । यसका लागि सरोकारसँग आपसी छलफल र समन्वय गर्ने उनले बताए ।
संघले समय समयमा जिल्लाका फरक फरक क्षेत्रमा ब्यावसायीहरुसँग छलफल र अन्तरक्रिया गरी उनीहरुलाई परेका समस्याबारे यथार्थ जानकारी लिने र समाधानका लागि तत्कालै पहल गर्ने उनले बताए ।
केन्द्र, प्रदेश र स्थानीय तहहरुसँग समन्वय गरेर काम गर्र्ने । हाल संघको आर्थिक अवस्था कमजोर रहेकाले यसलाई मजदुत बनाउन पहल गर्ने उनले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend