logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान


  • जन आकाश
  • शुक्रबार, चैत्र २३ २०८०

काठमाडौं । यसअघि गीतसंगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गरेका विश्व कीर्तिमानी डा.डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्‍याएका छन् ।  थप २० विश्व कीर्तिमान बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँका कीर्तिमानको संख्या १५३ पुगेको हो ।



काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले डा.उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।

साहित्यकार केदारनाथ खनालको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्वअध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, साहित्यकार समिना खनाललगायतले डा.उपाध्यायलाई बधाई तथा शुभकामना दिँदै उहाँका कर्मलाई देशले नै गौरव गर्नुपर्ने बताएका थिए ।

प्रमुख अतिथि रक्षामन्त्री उप्रेतीले डा.उपाध्यायलाई यस्तो विशेष कार्यका लागि बधाई तथा शुभकामना दिँदै उहाँले आफूलाई सधैं सकारात्मक कर्मतर्फ डोर्‍याएका कारण सबै सम्भव भएको बताए । आफूले नयाँ नयाँ विषयवस्तुमा खोज अनुसन्धान र केही फरक गरौं भन्ने धारणाका साथ काम गर्दै जाँदा आफ्ना विश्व रेकर्डको संख्या १५३ पुगेको डा. उपाध्यायले बताए । ‘म समाजका लागि गीत, उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’, भन्दै डा.उपाध्यायले श्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द हुने बताए ।

सो अवसरमा एभरेष्ट वल्र्ड रेकर्डसका मधुरा श्रेष्ठले डा.उपाध्यायलाई १५३ वर्ल्ड रेकर्डको मेडल प्रदान गर्नुभएको थियो । प्रमुख अतिथि रक्षा मन्त्री उप्रेतीले डा.उपाध्यायलाई बधाई तथा शुभकामना सम्मान पत्र पनि अर्पण गरेका थियो । कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई द विट्रिस रेकर्ड अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

यही महिना डा.उपाध्यायलाई विश्वको सर्वाधिक उचाइमा लाइभ गीत प्रस्तुत गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकोे प्रमाण पत्र हालै राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हस्तान्तरण गरिएको थियो । डा.उपाध्यायले विश्वमा एकैदिन सबैभन्दा बढी आर्टिकल लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्नुभएको छ भने सबैभन्दा धेरै भाषामा गीत लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका छन् ।

डा.उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित बुक अफ अमेरिका, एभरेष्ट वल्र्ड रेकर्ड, स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड, अष्ट्रेलिया, लण्डन युकेलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरे ।

नरेश भट्टराईले सहजीकरण गरेको कार्यक्रममा कीर्तिमानी गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ले डा.उपाध्यायका गीत प्रस्तुत गर्नुभएको थियो भने कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend