logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

इस्लाम धर्मावलम्बीले आज ईद पर्व मनाउँदै


  • जन आकाश
  • बिहिबार, चैत्र २९ २०८०

काठमाडौँ । देशैभर रहेका इस्लाम धर्मावलम्बीले बिहीबार इद पर्व मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुसीयालीमा इस्लाम समुदायले आज इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।



चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । इद उल फित्रका अवसरमा आज मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर नमाज पढ्ने, एक आपसमा खुसीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

इद उल फित्रमा दीनदुःखी एवं गरिबलाई दान दिने, आज नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठुलाबडासँग आशीर्वाद लिने दिने एवं आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खुवाउने चलन रहेको छ । रमदान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ । आज इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु) ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

आज काठमाडौंको जामे मस्जिद एवं देशका विभिन्न स्थानमा रहेका इदगाहमा धार्मिक ग्रन्थ कुरान पाठ गर्ने प्रचलन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend