logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

वैशाख ११ गतेदेखि बालाजु बाइसधारा मेला


  • जन आकाश
  • बुधबार, बैशाख ५ २०८१

काठमाडौं– काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले वैशाख ५ गते पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।



पत्रकार सम्मेलनमा मेला व्यवस्थापन समितिका संयोगक गौतम प्रजापतिले यसअघि बालाजु उद्यान कार्यालयले मेला व्यवस्थापन गर्दै आएपनि यसवर्षदेखि मेला व्यवस्थापन समिति निर्माण गरी तयारी गरिरहेको बताएका छन् । “मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिले काम गरिरहेको छ”, उनले भने ।

बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मेलालाई गत वर्षभन्दा भव्य रुपमा सम्पन्न गर्नका लागि सबै ठाउँमा पत्राचार गरिएको उनको भनाइ रहेको छ ।

प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायव उपरीक्षक रामकुमार दानीले मेलाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरिसकेको बताएका छन् । “मेलाको समयमा कुनैपनि घटना नघटोस् भन्ने उद्देश्यले सादा पोशाकमा समेत प्रहरी परिचालन गर्न लागेका छौँ”, उनले भने ।

बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जन बस्नेतले बालाजु बाइसधारा मेलाको समयमा बालाजुका २२ वटै धारामा पानी आउने व्यवस्था मिलाइएको बताएका छन् । उक्त समयमा बालाजु बाइसधारामा जात्रासमेत लाग्ने गर्दछ । तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिकाका र काठमाडौँ महानगरपालिका वडा नं १६ को पाँचवटा खट बालाजु बाइसधारामा आउने व्यवस्थापन समितिका सचिव विजयकुमार झाले जानकारी दिएका छन् ।

पाँच दिनसम्म चल्ने मेलामा देशभरबाट दुई लाख ३० हजार अवलोकनकर्ताको सहभागीता रहने आयोजकको अपेक्षा रहेको छ । मेलाको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका वडा नं १६ ले आर्थिक सहयोग गर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend