logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कुमाल र थारू जातिबारे भरतपुरमा सांस्कृतिक संवाद सम्पन्न


  • जन आकाश
  • आइतबार, बैशाख ९ २०८१

चेतनाथ धमला



काठमाडौं, ९वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ । प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रवार र शनिवार चितवनको भरतपुरमा विभिन्न दुई कार्यक्रम सम्पन्न भएका छन् । कुमाल सेवा समाज चितवनको स्थानीय संयोजनमा आयोजित ‘कुमाल जातिको सांस्कृतिक संवाद’ तथा थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनको स्थानीय संयोजनमा आयोजित ‘थारू जातिको सांस्कृतिक संवाद’को उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति भूपाल राईले शृङ्खलाको शुभारम्भ गर्नुभएको हो ।

विभिन्न जाति र परम्परामा भएको रैथाने ज्ञानलाई प्रवर्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । लिखित इतिहास नभएका सीमान्तकृत जातिभित्रको ज्ञानलाई मौखिक माध्यमबाट अभिव्यक्त हुने गरी प्रज्ञा–प्रतिष्ठानले सहजीकरण गर्ने उहाँको भनाइ रहेको थियो । प्रज्ञा—प्रतिष्ठानका गतिविधिलाई विभिन्न भाषाभाषी, जाति र संस्कृतिसम्म पु¥याउने योजनाअन्तर्गत चितवनबाट कार्यक्रम सुरु गरिएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताउएका थिए ।

कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल कुमालको अध्यक्षतामा भएको कार्यक्रममा तिलकबहादुर कुमालले उक्त जातिको भाषा तथा संस्कृतिका विषयमा प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि छलफल गरिएको थियो । साथै सो अवसरमा कुमाल जातिको भाषा र संस्कृतिको संवर्धनका लागि आगामी दिनमा गर्न सकिने विषयमा समूह छलफलसमेत गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा. बालाकृष्ण अधिकारीले सहजीकरण गरेका थिए । उक्त समूह छलफलमा बहस गर्दै कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल लामा, भरतपुर महानगरपालिका वडा नं. २८ का वडा सदस्य शेरबहादुर कुमाल तथा साहित्यकार भूपिन खड्काले जनप्रतिनिधि, जातीय समुदायका अगुवा र बौद्धिक वर्गले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका थिए ।

त्यस्तै थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनका अध्यक्ष ललितकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अनुसन्धाता डी.आर पोखरेलले प्रस्तुत गरेका थिए । ‘चितवनका थारू जातिको सांस्कृतिक सम्पदा संरक्षण र परिष्कारको आवश्यकता’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो । त्यसपछि आयोजित समूह छलफलमा राजनीतिशास्त्री डा. सञ्जय चौधरी, अनुसन्धाता सत्यनारायण चौधरी, अधिवक्ता सञ्जय चौधरी र कवि तथा समालोचक रमेश प्रभातले बहस गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण पत्रकार शान्तकुमार चौधरीले गरेका थिए । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य रामहरि श्रेष्ठ, भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीलगायत थारू समुदायका अगुवा र स्रष्टाहरूले पनि मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend