जन आकाश
झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्याउने बताए । झापामा महिनौँदेखि वर्षा भएको छैन ।
“सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,” तर सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ । उत्पादनमा ठूलो असर पुर्याउने सम्भावना छ ।”
झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन । सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन् ।
मेचीनगर–१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन् । ज्यामिरगढीको अधिकांश क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित छ । निन्दा र टिमाइ खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए पनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ ।
निन्दा नहरको मुहान कच्ची रहेको र पानीको स्रोत सुक्दै गएका कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन् । नहरमा पानी नआउने र खडेरी चर्किएपछि गाउँका अधिकांश मकैबाली सुकेर परालसरी भएको स्थानीय किसान अम्बिका शिवाकोटी बताउँछिन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend