logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

‘आमा’ बृहत् सुसेली शोककाव्य नियाल्दा


  • जन आकाश
  • आइतबार, जेष्ठ ६ २०८१

 



कल्पना अधिकारी भट्टराई

‘आमा’ शब्द नै अपार छ । आदरणीय सुसेली विधाका प्रवर्तक दाजु दुर्गाप्रसाद भमरकोटेको आमा बृहत् सुसेली शोककाव्य पढ्ने सुअवसर मिल्यो आज । यो शोककाव्य १८० पृष्ठमा फैलिएको रहेछ । यसको भूमिका आदरणीय साहित्यकार, कुशल राजनीतिज्ञ, मृदुभाषी श्री चन्द्रा न्यौपानेज्यूले यस कृतिका बारेमा विस्तृत रूपमा लेख्नु भएको छ । यसैगरी दामोदर ढकाल ‘दीपक’ (अध्यक्ष पब्लिक रिलेसन एण्ड पब्लिकेशन) आमा तिलकुमारी र सुसेली शीर्षकमा सुसेली विधाको शुरुवातीको चरणको अत्यन्तै मार्मिक ढङ्गले प्रस्तुत गर्नु भएको छ । ‘खै के भनौ ?’ शीर्षक राखेर स्वयंम दुर्गा दाजुले पनि आफ्ना कुरा प्रस्तुत गर्नु भएको छ ।
सुसेली नेपाली साहित्यको लघु विधा भएर पनि निकै लोकप्रिय बन्दै गएको छ यतिबेला । ५+७+५गरी सत्र अक्षरमा संरचित हुने यो विधामा जो कोहीले पनि आफ्ना भावना सजिलोसँग पोख्न सकिन्छ । गीत, भजन, चुट्का जुनसुकै लयमा गायन गर्दा पनि उत्तिकै मीठो, सरल सरस छ ।
थुप्रै साहित्यकारहरूले यस विधामा प्रवेश गरेर लगभग ४० भन्दा बढी कृति प्रकाशित गरिसक्नु भएको छ । सुसेलीका प्रवर्तक दुर्गाप्रसाद अधिकारीले त्रिनेत्र ’(बृहत् सुसेली काव्य २०७७) पनि निकाली सक्नु भएको छ । उहाँका विविध विधाका लगभग दर्जन कृतिहरू प्रकाशित छन् ।
उहाँको ममतामयी माताको देहावसान पछि दोस्रो बृहत् सुसेली शोक काव्य ’आमा’ आज हात हातमा आइसकेको छ । यश काव्य भित्र नियाल्दा उहाँले २२ वटा शीर्षकमा लेखिएका सुसेली यस काव्यमा समेट्नु भएको छ । मङ्गलाचरणबाट शुरु भएको यो शोक काव्य आमासँगका केही सम्झनाका पलहरूमा गएर सकिएको छ ।
यस भित्र शिव महिमा, सरस्वती वन्दना, आमा, जन्मस्थल भमरकोट, आमाको जीवनी, आमाको उपदेश, आमा छोराको संवाद, आमाको उपहार, आमाबाबाका गाली, आमाका गीत भजन, आमाबाट सिकेका खेलहरू, सार्थक जीवन, कपासमा अल्झिएको जीवन, स्वर्गारोहण, आर्यघाटको यात्रा, क्रियाकर्म शोक, सम्झना, समवेदनाहरू शीर्षकहरू रहेका छन् ।
यस काव्यका समेटिएका जुनसुकै सुसेली पनि अत्यन्तै मननीय, नेपाली माटोको सुगन्ध बोकेका र मार्मिक छन् । यहाँ आमाले गर्नु भएका जीवनका संङ्घर्ष, जीन्दगीका उतारचढाव, आमाको ममता, उदारपना, आमाले गुन्गुनाउनु हुने नेपाली गीत, भजन अत्यन्तै उत्कृष्ट छन् । आमाबाबुका गाली पनि हाम्रा लागि आशिर्वाद हुन् भन्ने कुरा पनि उल्लेखनीय छ । आमाको देहावसान पछिका सुसेलीहरू अझबढी मार्मिक र यथार्थ छन् ।केही उदाहरण ः–
सातु सामल
अन्त्यकाल छातीमा
मानो चामल (पृ ८१)

पाप लिँदै छु
अर्ती दिने मुखमा
आगो दिँदै छु (पृ ८४ )

पाप नगरोस्
जेठो छोरो कसैले
बन्नु नपरोस् (पृ ८४ )

रोएँ बेस्सरी
अगुल्टो छ हातमा
पोल्नु कसरी (पृ ८४ )

आमा परानी
मेरो माया जलाई
पारेँ खरानी(पृ ८६)

भन्थ्यौ हे सानू
खोलाको छेउछाउ
जाँदै नजाऊ (पृ८६)

यो कृति पढ्नुहुने जो कोहीको पनि मुटु भक्कानिन्छ । प्रत्येक दिनको क्रियाकर्मका प्रसङ्गका सुसेली उत्तिकै चोटिला छन् । साहित्यिक मनहरूले दिनुभएका समवेदनाका सुसेली पनि यस काव्यमा समेटिएका छन् । सबै नै हृदयविदारक छन् ।
समग्रमा यो बृहत् सुसेली शोककाव्य अत्यन्त उत्कृष्ट छ । थप आमाको महिमा र अभाव, महत्त्व बुझ्नको सबै साहित्य प्रेमिले खोजी खोजी एक पटक पढ्नको लागि म आग्रह गर्छु । आदरणीय दुर्गा दाजुलाई राम्रो कृति प्रकाशित गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend