logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा मिथिला कला प्रदर्शनी


  • जन आकाश
  • सोमबार, जेष्ठ ७ २०८१

काठमाडौँ । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्याण्डमा आइतबार सम्पन्न भएको छ ।



गैरआवासीय नेपाली संघ (एनआएनए) फिनल्याण्डको आयोजनामा फिनल्याण्डको राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला प्रदर्शनी सम्पन्न भएको हो । युरोप भ्रमणको क्रममा चित्रकार यादवको यो अन्तिम मिथिला कला प्रदर्शनी थियो ।

प्रदर्शनीमा चित्रकार यादवका ४० वटा मिथिला चित्र राखिएका थिए । उनका चित्रहरु नेपाली समाज र संस्कृतिका राम्रा पक्षको उजागर र नराम्रा पक्षमाथि प्रहार गर्ने खालका हुन्छन् । जर्मनी, डेनमार्क र फिनल्याण्डमा आफ्ना मिथिला चित्रहरु प्रदर्शन गर्न चित्रकार यादव गत वैशाख ६ गते ३३ दिनका लागि युरोप कला यात्रामा गएकी हुन् । नेपाली समाज जर्मनीको आयोजनामा गत वैशाख ८ गते जर्मनीको फ्र्यान्कफर्टमा उनको एकल चित्रकला प्रदर्शनी भएको थियो ।

त्यसपछि बर्लिनको नेपाली दूतावासमा पनि एक दिनका लागि उनका चित्रहरु प्रदर्शनीमा राखिएको थियो । यस्तै, जेठ ११ र १२ गते डेनमार्कको राजधानी कोपनहेगनमा उनको दुई दिवसीय एकल चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो ।

त्यसलाई डेनमार्कस्थित नेपाली दुतावास, एनआएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा आयोजना गरेको थियो । त्यसअघि एनआएनए डेनमार्कले आयोजना गरेको एक दिवसीय मिथिला आर्ट वर्कशपमा चित्रकार यादवले करिब पचास जना नेपाली र भारतीय बालबालिका र उनका अभिभावकलाई मिथिला चित्र बनाउन सिकाएकी थिइन् ।

राष्ट्रिय ललितकला पुरस्कारले सम्मानित चित्रकार यादव युरोपका तीन देशमा एकल चित्रकला प्रदर्शनी सम्पन्न गरेर र पाँच देशको भ्रमण सकेर जेठ ८ गते मंगलबार स्वदेश फर्किंदैछिन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend