जन आकाश
काठमाडौं । लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलको फाईनलमा पुगेको छ । सेप्टेम्बर १२ देखि १६ सम्म रसियाको क्रेस्टोभय ५ मा आयोजना हुने चलचित्र महोत्सवमा नेपालको अर्को लघुचलचित्र ‘पाउलो’ पनि छनोट भएको छ ।
बालमनोविज्ञानमा आधारित ‘द स्कुल वाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो ।
काठमाडौंमा भर्खरै सम्पन्न भएको काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा ‘द स्कुल वाल’ छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शनसमेत भईसकेको छ । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् ।
अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायत सेलीब्रेशन स्कूलका विद्यार्थीहरुको अभिनय रहेको छ । लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका छन् ।
‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
काम गर्ने ठाउँको अगाडिबाट विद्यार्थीहरु विद्यालय गईरहँदा उसलाई पनि पढ्ने रहरले विद्यालयसम्म तानेर लैजान्छ । पारिवारिक, आर्थिक समस्या र बाध्यात्मक परिस्थितिबिच उसले अनेक तरहका उपाएहरु अपनाएर विद्यालयभित्र प्रवेश गर्न सफल हुन्छ तर त्यो खुशी धेरै समय टिक्दैन र कथाले अर्कै मोड लिन्छ । एउटा बालकले पढ्ने रहरको लागि के के सम्म गर्न सक्छ भन्ने कुरालाई चलचित्रले देखाउन खोजेको यसका निर्माता सुरेन्द्र क्षेत्री बताउँछन् ।
रसियामा छनोट भएको अर्को नेपाली सर्टफिल्म ‘पाउलो’ यसअघि भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल ’आईसीएफसी’ को नोमिनेशनमा परेको थियो । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ’पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ ।
मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको निर्माण टीमले बताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend