जन आकाश
जयराम बिडारी ।
काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको आयोजनामा प्रत्येक महिनाको दोस्रो शनिवार आयोजना गरिने ‘अविरल जनसाहित्य यात्रा’ को ९१ औं श्रृङ्खलामा प्रगतिवादी कविका रुपमा स्थापित सशक्त कवि नन्दु उप्रेतीका दर्जन कविता वाचन गरिएका छन् ।
राष्ट्रिय जनसाहित्य संघ नेपालको अद्वैतमार्ग बागबजारमा सञ्चालित उक्त कार्यक्रममा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयद्वारा कवि उप्रेतीलाई माल्यार्पण गरी स्वागत गरिएको थियो । नेकपा एमाले संस्कृति विभाग प्रमुख, पूर्वमन्त्री एवम् साहित्यकार माननीय रघुजी पन्तको प्रमुख आतिथ्यमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षता तथा प्रा.डा.गोपीन्द्र पौडेल,वरिष्ठ समालोचक प्राध्यापक केशव सुवेदी ,मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला,साहित्यकार नर्मदेश्वरी सत्याल, डा.राजेन्द्रप्रसाद अधिकारी लगायत यथेष्ट साहित्यानुरागीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
२०२३ असार १५ गतेका दिन इलामको साङरुम्बामा माता मनकुमारी उप्रेती र पिता गङ्गाप्रसाद उप्रेतीका सुपुत्रका रूपमा जन्मिएका नन्दु उप्रेतीले त्रिभुवन विश्वविद्यालयबाट एम.ए.,एम।एडसम्मको शिक्षा हासिल गरेका कुरा कार्यक्रममा अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा।हरिप्रसाद सिलवालले जानकारी दिंदै उनका व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।

के थियो तिम्रो नाम रु हतियारको आसुँ, रजस्वला जीवनको ज्योति, भर्खरै सुतेको मान्छे, पोखरीमा डुबेको आकाश, सहिदलाई बिर्सने सहिदको साथी,प्रेयसीको सौन्दर्य,हारिरहेका छोराछोरी,मूर्तिको आवाज, मेरो प्यारो काठमाडौँ,सुनाखरी र लालीगुँरास,देशको नक्सा र मेरो बुबा गरी एक दर्जन कविता वाचन गरिएको उक्त कार्यक्रममा कवि स्वयंले नौवटा कविता सुनाएका थिए भने मित्र,डा.राजेन्द्रप्रसाद अधिकारी, पुत्र अनुप उप्रेती तथा पत्नी पवित्रा सुवेदीले एकएकवटा कविता वाचन गरेर कविलाई सहयोग गरेका थिए ।
यद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका महासचिवका रूपमा क्रियाशील रहेका कवि नन्दु उप्रेतीका ‘फेवादेखि विवासम्म’ नियात्रासङ्ग्रह २०५६, ‘हामी साना लालाबाला’ बालकवितासङ्ग्रह २०६०, ‘सानी सानी पुतली’ बालकवितासङ्ग्रह २०६०, ‘हृदयको ज्योति’ किशोर कथा (अनुवाद) २०६५, ‘कालापानी यात्रा’ नियात्रासङ्ग्रह २०७५, ‘नेपाली लघुउपन्यास परम्परा र प्रवृत्ति’ अनुसन्धान २०७९, ‘नन्दु उप्रेतीका कविताहरू’ अडियो कविता २०८० जस्ता कृति प्रकाशित भइसकेका छन् । झण्डै आधा दर्जन कृतिको सम्पादन गरिसकेका उनले विभिन्न मान, सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेका छन् ।
नन्दु उप्रेतीका कविताहरूमाथि समीक्षा गर्दै वरिष्ठ समालोचक प्राध्यापक केशव सुवेदीले देशप्रेमले ओतप्रोत भएका कविता,प्रकृति प्रेम,समाजमा ब्याप्त समस्या, देशका पीडा, जनताका दुस्खसुख, विशिष्ट मातृवात्सल्य परदेशिएका सन्तानका कथाव्यथा, बेनामे तर प्रमुख भूमिका निर्वाह गरेका योद्धाहरूप्रति सम्मान,युगचेतनाको प्रस्तुति सरलता भित्र बौद्धिकता,विचारको उत्कृष्टता उप्रेतीका कविताका महत्वपूर्ण पाटो रहेको बताएका थिए । यसैगरि प्रमुख अतिथि साहित्यकार एवं सांसद रघुजी पन्तले परिवर्तन ध्वंशबाट मात्र हुँदैनन् सिर्जनामा वैचारिक सौन्दर्य आवश्यक हुन्छ भन्दै नन्दु उप्रेतीका कविताले जीवनवादी विचार अँगालेको चर्चा गरे। साहित्यको कुनै पनि विधाले सृजनामा स्वच्छन्दता सहित जनताको आवाज मुखरित हुने खालका विचारको स्पष्टता हुनुपर्ने विचार व्यक्त गरेका थिए ।
निरन्तर रुपमा सात वर्षदेखि सञ्चालन भइरहेको विशेष महत्त्वको कार्यक्रममा कतिपय स्रष्टाका कविता सुन्न, कतिपयको कविता वाचन गर्ने सहयोगी कविका रूपमा पनि उपस्थित भएको स्मरण गर्दै विशेष उद्देश्यमूलक समारोहमा आज आफ्नै कविता प्रस्तुत गर्ने सुअवसर प्राप्त भएकोमा कवि नन्दु उप्रेतीले आयोजकप्रति आभार व्यक्त गरे ।
गुम्दै गएको राष्टिय स्वाभिमान,परिवर्तनका लागि बलिदानी दिएका सहिदको अपमान,गहिरिंदै गएको गरिवीको खाडललाई पुर्न नसकिएको कुरूप यथार्थलाई सपनाको व्यापार गर्ने चटकेहरु लगायत जनतामा चेतनाको संचार गर्नपर्ने आफूलाई लागेकोले सोही अनुसारको साहित्य सृजना गरेको रचनागर्भको पनि जानकारी गराए ।
के थियो तिम्रो नाम र शीर्षकको कविताबाट रचना वाचनको घुम्टो उघारेका उप्रेतीले राष्ट्रनिर्माता चाउरिंदै गएको देशको नक्सा र मेरो बुबाु कविता प्रस्तुत गर्दै समापन गरेका थिए । देबु लुइटेलद्वारा सहजकर्ताको भूमिका निभाइएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पनह गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend