logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रमेश विकलका कथा, नाटक र उपन्यासका समग्र कृति सार्वजनिक


  • जन आकाश
  • शनिबार, साउन २६ २०८१

काठमाडौ । यशस्वी आख्यानकार रमेश विकलका सम्पूर्ण कथा, उपन्यास र नाटक सङ्गृहीत “रमेश विकल समग्र” मूल शीर्षक अन्तर्गत कथा, उपन्यास र नाटक खण्डकको आज लोकार्पण सम्पन्न भयो ।



गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा प्रकाशित विकलका नाटक, कथा र उपन्यास विधाका कृतिको एकीकृत संग्रह साउन २५ गते शुक्रबार गोकर्णेश्वर–८ त्रिवेणी ब्याङ्केटमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको हो ।

रमेश विकल साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

समारोहमा प्रमुख आतिथिको आशनबाट नगरप्रमुख रिसालले रमेश विकलको सक्रिय जीवनकालमा उहाँसंगको सामिप्यताले आफूलाई साहित्यको महत्व बुझ्न सहयोग गरेको बताउनुभयो ।

उहाँले नगरपालिकाले विकासका समग्र पक्षमा साहित्यलाई उच्च प्राथमिकता दिएर यहाँ रहेका साहित्यिक प्रतिष्ठानहरुलाई वर्षेनी बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । उहाँले विकलको समग्र कृति प्रकाशनले उहाँको सिर्जना संरक्षणमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।

नगरप्रमुख रिसालले नगरपालिकाले हरेक वर्ष विविध सांस्कृतिक गतिविधि गर्दैआएको जानकारी दिंदै साहित्यकारहरुको संरक्षण र हौसला प्रदान गर्न ‘नगर साहित्य पुरस्कारको स्थापना गरेको र अहिले सो पुरस्कार नगरभित्रका मात्र नभएर बाहिरका साहित्यकारलाई पनि प्रदान गरिने जानकारी दिनुभयो ।

विशेष अतिथिको आसनबाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नंं ९ का अध्यक्ष राजिब थापाले रमेश विकल यस नगरपालिकाको वडा नं. ९ मा जन्मनु आफैंमा गर्वको विषय रहेको भन्दै साहित्यको उन्नयनमा आफ्नो तर्फबाट सदा सक्रिय भूमिकामा रहने बतानुभयो ।

कार्यक्रममा कृतिका सम्पादक ठाकुर शर्मा भण्डारीले विकलका २००६ सालदेखि सुरु भएको लेखनकार्य २०६४ सालसम्म कायम रहेको र उहाँको लेखनमा समाजको यथार्थता उतारिएको बताउनुभयो ।

नाटक खण्डको समीक्षा गर्द समीक्षक सार्दुल भट्टराईले सुरुमा कथाकारका रुपमा चर्चामा आउनुभएका विकलको २०२० सालमा शारदा पत्रिकामा ‘सरदार भक्ति थापा’ नाटक प्रकाशन भएपछि नाटककारका रुपमा पनि चर्चित हुनुभएको बताउनुभयो ।

त्यस्तै उपन्यास खण्डको समीक्षा गर्दै गोपी मैनालीले विश्व उपन्यासमा विकलका चार उपन्यास तुलनालायक रहेको र उहाँका उपन्यासहरुले सामाजिक यथार्थता उजागर गर्ने आधुनिक कालखण्डका उपन्यासहरुको चरण पार गरेको बताउनुभयो ।

विकलको सबभन्दा लोकप्रिय विधा कथा खण्डको समीक्षा प्रा.डा. हेमनाथ पौडेलले गर्नुभएको थियो । कथा विधामा विकलका पुस्तकाकारमा प्रकाशित, अप्रकाशित र पत्रपत्रिकामा प्रकाशित गरी १ सय ४२ वटा कथा रहेको छ ।

विमोचन समारोहमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्षा के के कर्माचार्यले स्वनगत गर्नु भएको सो समारोहमा महासचिव विजय चालिसेले धन्यवाद ज्ञापन गर्दै सबै साहित्यकार तथा साहित्यप्रेमीहरुलाई रमेश विकल साहित्य प्रतिष्ठान भ्रमण गरी विकल संग्रहालयको अवलोकन गर्न आग्रह गर्दै समग्र कृति प्रकाशनको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

सभापतिको आशनबाट प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले सभा विसर्जन गर्दै नेपाली साहित्यमा रमेश विकलको महत्व र स्थान स्पष्ट रहेको बताउनुभयो ।

“रमेश विकलका समग्र कृति” नाम दिइएको तीन ग्रन्थहरु ३ हजार पृष्ठका हाराहारीमा रहेका छन् । ग्रन्थमा विकलका २०१६ सालदेखि २०७५ सम्म छापिएका रचनाहरुलाई समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend