logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

विराज भट्टको फिल्म “१२ गाउँ” फूलपातिमा प्रदर्शन हुने


  • जन आकाश
  • बुधबार, साउन ३० २०८१

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण एवं निर्देशन रहेको फिल्म “१२ गाउँ” पनि दसैंको फूलपातिमा प्रदर्शनमा आउने भएको छ।



एक पोस्टर सार्वजनिक गर्दै विराजले असोज २४ गते फिल्म रिलिज गर्ने घोषणा गरेका हुन्। योसँगै सो मितिमा रिलिज हुने नेपाली फिल्मको संख्या ३ पुगेको छ। यसअघि “छक्कापञ्जा ५” र “ज्वाइँ साब” ले उक्त मिति घोषणा गरेकोमा “१२ गाउँ” पनि आउने भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा तय भएको हो।

विराजले छोरा समीरको एक्सन लुक समेटिएको पोस्टर सार्वजनिक गर्दै नेपाली एक्सन फिल्मलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरी यसमा काम गरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, लामो समयदेखि सिनेमा क्षेत्रमा काम गर्दै दर्शकले मलाई एक्सन फिल्ममा साथ दिँदै गर्दा नेपाली एक्सन फिल्मलाई अन्तराष्ट्रिय स्तरमा कसरी चिनाउने भन्ने मेरो चिन्तन र यसपटक १२ गाउँमार्फत मैले त्यो प्रयास गरेको छु। यसमा समीर भट्टले पनि लामो समयदेखि आफ्नो अभ्यासलाई दसौँ वर्ष एउटा तपस्वी जस्तै निरन्तरता दिएको छ। मलाई आशा छ दर्शकको माया, साथ र आशीर्वाद १२ गाउँलाई मिल्ने छ।

सार्वजनिक पोस्टरमा टिजर छिट्टै आउने जनाइएको छ। विराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुति रहेको “१२ गाउँ” बाट समीर भट्टले डेब्यु गर्न लागेका हुन्। फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडिओमा रूचाइएकी मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन्। यसमा विराजले समेत अभिनय गरेका छन्।

साथमा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर(इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend