logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

साहित्यिक पत्रकारिताका अथक साधक रोचक घिमिरेलाई नागरिक अभिनन्दन


  • जन आकाश
  • मंगलबार, भाद्र ४ २०८१

जयराम बिडारी



काठमाडौ  । साहित्य सृजना तथा साहित्यिक पत्रकारिताको क्षेत्रमा ६ दशक भन्दा अघिदेखि निरन्तर रुपमा सक्रिय रहेका अग्रज साहित्यकार तथा रचना द्वैमासिक साहित्यिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेको ८४औं जन्मदिनको अवसर पारेर नागरिक अभिनन्दनका रुपमा ९५ संघ संस्थाले एकसाथ सम्मान गरेका छन् ।

नेपाल स्रष्टा समाजको आयोजना तथा भैरव पुरस्कार गुठीको सहआयोजन लगायत ९५ साहित्यिक संघ संस्थाको संयुक्त संलग्नतामा शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीस्थित लेखनाथ सदनको प्रेक्षालयमा आयोजित कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा.अभि सुवेदीको प्रमुख अतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा तथा समिक्षक डा. शान्तिमाया गिरी,भैरव पुरस्कार गुठीका उपाध्यक्ष विजय चालिसे नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा, समाजका संरक्षक पवन आलोक,अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, श्रृङ्खला मासिकका सम्पादक प्रवीण जोशी ,प्रा.डा गोविन्दराज भट्ट,स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरी, घुम्ति कवि गोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ लगायत करिव २५० जना जति साहित्यानुरागीहरुको समुपस्थितिमा कार्यक्रम सुसम्पन्न गरिएको थियो ।

सो अवसरमा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको ८४औँ जन्मदिनको उपलक्ष्यमा वृहत् नागरिक अभिनन्दन तथा ‘रोचक रचना’ अभिनन्दन ग्रन्थको लोकार्पण समेत गरिएको थियो । कार्यक्रममा अभिनन्दित व्यक्तित्व रोचक घिमिरेलाई उनकै कद बराबरको कलात्मक काठको फ्रेमभित्र पित्तलमा कुँदिएका अक्षरहरूको अभिनन्दनपत्र प्रमुख अतिथि प्रा.डा.अभि सुवेदीले घिमिरे पत्नी सुष्मिता घिमिरे लगायत परिवारका अन्य सदस्यहरुको उपस्थितिमा समर्पण गरेका थिए। सोही अवसरमा रोचक घिमिरेद्वारा बिगत ६३ वर्षदेखी सम्पादन गरिएको ‘रचना’ साहित्यिक द्वैमासिक पत्रिका विशेषांकका रुपमा अभिनन्दनग्रन्थ ‘रोचक रचना’ पनि लोकार्पण गरिएको थियो ।

उक्त अवसरमा लोकार्पित ग्रन्थमाथि डा.शान्ति माया गिरीले समीक्षात्मक टिप्पणी गर्दै प्रस्तुत ‘रोचक रचना’ले समग्रतामा रोचक घिमिरे र उनका रचनात्मक शिल्पका बारेमा १५२जना विभिन्न मुर्धन्य व्यक्तित्वहरुले लेख रचना, कविता,कृतितर्चा, रचनापरिवार तथा मित्र खण्ड ,अन्तर्वार्ता,सिर्जना र परिशिष्टका रुपमा मिहिन ढंगले उजागर गरिएको बताउँदै घिमिरेको साहित्यिक सक्रियता,सुस्वास्थ्य र दीर्घजिवनको कामना गरेकी थिइन् ।यसैक्रममा प्रमुख अतिथिको भूमिकामा रहेका वरिष्ठ समिक्षक प्रा.डा.अभि सुवेदीले जीवनको उर्वर समयदेखीनै निरन्तर रुपमा साहित्यको अथक साधना गर्ने क्रममा आधा शताब्दी पार गरिसक्दा पत्रिका लगायत आफ्ना कद नघटाई आफ्नै रफ्तारमा नियमित कर्म गर्दै जाँदा समाजले सामाजिक लेखापरिक्षण गर्दो रहेछ भन्ने ज्वलंत उदाहरणका रुपमा आजको यस कार्यक्रमले पुष्टि गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदनले’ रचना द्वैमासिक पत्रिका र रोचक घिमिरे एक अर्काका पर्यायवाचीका रुपमा स्थापित भइसकेका अग्रज साहित्यिक पत्रकार तथा लेखक घिमिरेलाई अभिनन्दन गर्न पाएकोमा समाज स्वयं पनि सम्मानित भएर नेपाली भाषा साहित्य जगत्को अभिनन्दन भएको कुरा बताए।

अभिनन्दित व्यक्तित्व रोचक घिमिरेले २० वर्षको कलिलो उमेरमै रहरै रहरमा भैरव अर्याल र रमेश विकल, बिपी कोइराला लगायतको सल्लाहमा आफू साहित्यिक पत्रकारिताका क्षेत्रमा क्रियाशिल रहेको उल्लेख गरे । २०१८ सालदेखि नियमित रुपमा प्रकाशित रचना साहित्यिक पत्रिका र यसको निरन्तर पहरेदारको रुपमा रहेको आफ्नो भूमिकाले यसरी समग्रतामा नागरिक अभिनन्दनकै शैलीमा सम्मान प्राप्त गर्ला भनेर कहिल्यै नसोचेकोमा यो खुशी ब्यक्त गर्नका लागि आफूसँग कुनै शब्द नै नभएको बताउँदै आभार प्रकट गरे । ।

सो अवसरमा सहआयोजकका रुपमा रहेको भैरव पुरस्कार गुठीका उपाध्यक्ष विजय चालिसेद्वरा अभ्यागतहरुलाई स्वागत गरिएको उक्त कार्यक्रममा अभिनन्दनपत्रलाई कवि विधान आचार्यले वाचन गरी सुनाएका थिए । कार्यक्रममा रोचक घिमिरेका बारेमा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, नेपाली शिक्षा परिषदकी अध्यक्ष तथा समाजकी सल्लाहकार रमा शर्मा , प्रा.डा. गोविन्दराज भट्टराई, शेषराज शिवाकोटी,र मोहन दुवालले शुभकामना मन्तव्य राखेका थिए । स्रष्टा समाजका महासचिव देविका तिमिल्सिनाद्वारा सहजकर्ताको भूमिका निभाएका उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend