logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नागार्जुन विशेष स्रष्टा सम्मानद्वारा कुसुम ज्ञवाली सम्मानित


  • जन आकाश
  • आइतबार, भाद्र १६ २०८१

माधव घिमिरे ‘अटल’



काठमाडौ । नागार्जुन वाङ्मय प्रतिष्ठानको मासिक सुप्रभात काव्यगोष्ठी अन्तर्गत रचना वाचन, टिप्पणी तथा नागार्जुन विशेष स्रष्टा क्यानडाबाट नेपाल आएका प्रतिष्ठानका आजीवन सदस्य इन्जिनियर कुसुम ज्ञवालीका आधा दर्जन सिर्जना श्रवण सुसम्पन्न भएको छ ।

कार्यक्रममा ज्ञवालीले ‘कर्‍याङकुरूङ’ शीर्षकीय कविता वाचनबाट खेवारा गरी ‘यसरी त हुँदैन त बा’ शीर्षकीय सिर्जनाबाट मैझारो गरे । उनले ‘रानीमहल’ र ‘अस्पताल’ लगायत शीर्षकका रचना पनि वाचन गरेका थिए ।

उक्त कार्यक्रममा गङ्गा खतिवडा, सुशीला शर्मा, नवीन पल्लव, जयराम बिडारी,रूबी सत्याल, सुजिता अविरल, मिसन अधिकारी, डा. विष्णुहरि नेपाल, शिवहरि पाण्डे, केशव घिमिरे, कृष्ण प्रसाद पौडेल ‘जस्ताघरे’, विनोद ढकाल, राजेन्द्र कुमार बर्तौला, अमरदीप सुनुवार, रूद्र अधिकारी, दिल पौडेल, बलराम विष्ट, सुष्मा देवकोटा, रामहरि अधिकारीलगायतका स्रष्टाले आआफ्ना सिर्जना वाचन गरेका थिए ।

विशेष अतिथिको आसनबाट आफ्नो सङ्क्षिप्त मन्तव्य राख्दै डा. नेपालले यस्तो सृजनशील कार्य गर्नु सराहनीय भएको बताए । यस्ता सिर्जनाले सत्ताधारीहरूलाई पिरोल्ने उल्लेख गर्दै समाज रूपान्तरणका निम्ति सघाउने राय राखे । यस्तो पवित्र कर्मका निम्ति नागार्जुन वाङ्मय प्रतिष्ठानलाई आभार प्रकट गरे ।

प्रमुख अतिथि भाषाशास्त्री, समालोचक, संस्कृतविद् तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व सदस्य-सचिव प्रा.डा.जीवेन्द्रदेव गिरीले वाचित रचनाहरूको रौँचिरा विश्लेषण गरेका थिए । उनले कुसुमको व्यक्तित्वबारे पनि साङ्गोपाङ्ग मन्थन गर्न भ्याए । आफू भूमिगत हुँदाको तीज गीत प्रस्तुत गर्दै स्मृतिदंशमा फर्किएर उनी एकछिन भावुक पनि बने ।

कार्यक्रममा उन्मुक्त अभियन्ता तथा बालसाहित्यकार केशरी अम्गाईं, कवि तथा सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल, तथा नागार्जुन साहित्यिक प्रतिष्ठानका संस्थापक अध्यक्ष वैरागी जेठाको पनि उपस्थिति थियो ।

प्रतिष्ठानका सचिव माधव घिमिरे ‘अटल’ले सहजीकरण गरेको उक्त कार्यक्रमको अध्यक्ष दिल पौडेलले बिट मारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend