जन आकाश
काठमाण्डौ । नेपाल स्रष्टा समाजको १८ औं साधारण सभा तथा १० औं अधिवेशनबाट बरिष्ठ साहित्यकार तथा मधुपर्कका पूर्व सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति,कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न
गरिएको उक्त अधिवेशनमा समाजका उपाध्यक्ष चेतनाथ कंडेलले अभ्यागतहरुलाई स्वागत गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अधिवेशनका प्रमुख अतिथिका भूमिकामा मन्तव्य ब्यक्त गर्दै बैरागी काइँलाले नेपाली साहित्यलाई विश्वस्तरमा स्थापित गराउन स्रष्टा समाजले गैह्र सरकारी स्तरबाट भारत,बंगलादेश,चीन लगायतका छिमेकी मूलुकह्ररु बिच साहित्यिक भ्रमणसँगै साहित्यिक र सांस्कृतिक सम्बन्ध स्थापित गरिरहेको कार्यको लागि खुशी व्यक्त गर्दै यसबाट नेपाली साहित्यको उत्थान र विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विचार व्यक्त गर्दै अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति,कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले ‘रोदन’को नेतृत्वमा आगामी २ वर्षको निम्ति उपाध्यक्ष डा.षडानन्द कंडेल,महासचिव देविका तिमिल्सिना कोषाध्यक्ष तारा सुवेदी,सचिव प्रकाश घायल र सदस्यहरुमा क्रमश: डा.शान्तिमाया गिरी,माधव विडारी ’चेतनपथ’ मधु पाठक, रञ्जना निरौलालगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
उक्त अवसरमा नेपाल बंगलादेश फ्रेन्डसिप सोसाइटीका अध्यक्ष लायन मसुर मोहमदले दुई देशको भाषा साहित्यमा अनुभवको आदानप्रदान सहित भाषा साहित्यमा सहकार्य भैरहेको बताउँदै बंगलादेशमा नेपाली साहित्यकारहरुको स्वागत गर्न आतुर रहेको बताउँदै अधिवेशनको पूर्ण सफलताको शुभकामना ब्यक्त गरे ।
सो अवसरमा समाजका सल्लाहकार बरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे तथा नगेन्द्र राज शर्माले शुभकामना मन्तब्य राखेका थिए । यसैक्रममा बंगलादेशका पूर्व राजदुत,लेखक तथा अनुवादक मसुद मनन,बंगलादेश दुताबासका प्रथम सचिव हुमायुन कबिर लगायतले शुभकामना व्यक्त गरे । कार्यक्रममा चिनियाँ साँस्कृतिक केन्द्रले पठाएको लिखित शुभकामना मन्तव्य बाचन गरेर सुनाइएको थियो ।
बन्दसत्रमा महासचिवको प्रगतिप्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो भने विधान शंसोधन समितिले पेश गरेको शंसोधन प्रस्ताव समेत पास गरेको थियो ।
कार्यक्रममा पवन आलोकको संयोजकत्व तथा प्रा.डा.लक्ष्मणप्रसाद गौतम र विधान आचार्य सदस्य रहेको निर्वाचन समितिले श्रीओम श्रेष्ठ ‘रोदन’को नेतृत्वमा आगामी २ वर्षका लागि उपाध्यक्ष डा.षडानन्द कंडेल,महासचिव देविका तिमिल्सिना कोषाध्यक्ष तारा सुवेदी,सचिव प्रकाश घायल र सदस्यहरुमा क्रमश: डा.शान्तिमाया गिरी,माधव विडारी ’चेतनपथ’ मधु पाठक, रञ्जना निरौलालगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी निर्विरोध निर्वाचित गरेको थियो ।
निर्विरोध निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समिति संयोजकले प्रमाणपत्र वितरण गरी सपथ ग्रहण समेत गराएका थिए ।
समाजको महासचिव देविका तिमिल्सिनाद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend