जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसनले यही २०८१ असोज १९ गते शनिबार अठारौं अनलाइन कार्यक्रममा आउँदै गरेका महान पर्वहरूको शुभकामना आदानप्रदान तथा सुसेली गायन र वाचनको कार्यक्रम सम्पन्न गरेको छ ।
सुसेली फाउन्डेसनका संस्थापक अध्यक्ष तथा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको संयोजन तथा सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमको संचालन कवि साहित्यकार, सुसेली विधाकी अभियन्ता तथा नोवेल साहित्य संस्थाकी सचिव कवि सुशीला ढकाल अधिकारीले गर्नु भएको थियो ।
आउँदै गरेका महान पर्वहरूको शुभकामना विशेष सुसेली गायन र वाचन कार्यक्रममा सरिक २० जना कवि साहित्यकारहरूले त्रिपदीय नेपाली लोकलय, पुर्वीय, पश्चिमी, भजन र दोहोरीका लयमा रचना गरि महान चाडपर्वको महत्त्व र महिमा, यो बर्षको अविरल वर्षका कारण हुनगएको धनजनको क्षतिले पर्व मान्न सहज नहुने अवस्थाका विषय र पर्व मनाउँदा हुने दुःखद क्षणको आकलन सहित समसामयिक तथा व्यंग्यात्मक सुसेलीहरू गाउनु र वाचन गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि डा. शैलेन्दुप्रकाश नेपालले आफू सुसेली प्रेमी भएको नाताले सुसेलीको सम्रक्षण, सम्बर्द्धन र परिमार्जन गर्दै यो विधालाई व्यापक बनाउन जे जस्तो सहयोग गर्दै अगाडि बढी रहेको र लघुविधा सुसेली लेख्न सजिलो भए पनि सत्र अक्षरमा गहन, भावपुर्ण, सन्देशमुलक एउटा महाकाव्य नै तयार गर्न सकिने भएकोले अत्यन्तै सावधानीपुर्वक कलम चलाउनु पर्ने कुरमा ध्यान जानुपर्ने बताउँदै, सबै साहित्यिक विधाहरू एकजुट भएर नेपाली साहित्यको सेवा गर्नुपर्छ भन्दै आफूले रचना गरेका महान पर्व सम्बन्धि एउटा शुभकामना सुसेली लयमा गाएर सुनाउनुभयो ।
अर्का विशिष्ट अतिथि कलानिधि दाहालले कार्यक्रममा पुरै समय दिएर सबैका सुन्दर तथा गहन सुसेलीहरू सुन्न पाउँदा खुसी लागेको र सुसेलीले लोभलाग्दो किसिमले प्रगति गरिरहेकोमा हार्दिक बधाई तथा सम्पूर्ण सहयोगी तथा सहभागीहरूमा आउँदै गरेका पर्वहरूको शुभकामना दिँदै आफ्ना शुभकामना सुसेलीहरू लयमा गाएर सुनाउनु भयो ।
अर्का विशिष्ट अतिथि सुसेली फाउन्डेसनकी संरक्षक गंगा लिगलले आजको गरिमामय कार्यक्रममा सहभागी भएर शुभकामना व्यक्त गर्न पाउँदा खुसी लागेको कुरा व्यक्त गर्दै सबैमा आउँदै गरेका महान पर्वहरूको शुभकामनाका साथमा सुसेली मञ्चको उत्तरोत्तर प्रगतिको कामना सहित आफ्ना दशवटा पर्व सम्बन्धि शुभकामना सुसेली प्रस्तुत गर्नु भएको थियो ।
यसरी तीनजना विशिष्ट अतिथि सहित २० जना अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्न पाएकोमा आफुलाई अत्यन्तै खुसी लागेको र विशिष्ट अतिथि ज्यूहरूबाट सुसेली विधाको लागि अत्यन्तै अनुकरणीय शिक्षाप्रद उपयोगी भनाइहरू प्राप्त भएको र यसका अलावा सुशीला बहिनीलाई नयाँ कृतिका लागि बधाई र जन्मदिनको शुभकामना तथा अनुवादक तिलकप्रसाद लुइँटेलको स्मृति ग्रन्थका लागि सबैले समयमै लेख रचना उपलब्ध गराइदिन अनुरोधका साथ कार्यक्रमलाई भव्य तथा सभ्य तवरमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सभापति दुर्गा अधिकारी भमरकोटेले कार्यक्रममा प्रस्तुत हुँनु भएका हरेक कविको नाम उच्चारण र प्रसंसा सहित शुभकामना र दसैं टीकाको आशिषलाई सुसेलीमा प्रस्तुत गरि कार्यक्रमको समापन गर्नुभयो ।
कार्यक्रममा उपस्थित सहभागी अतिथि कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि सुरेशचन्द्र घिमिरे, चन्द्रा न्यौपाने, जानुका थापा रायमाझी, लक्ष्मीप्रसाद मिश्र, कल्पना दाहाल, कल्पना अधिकारी भट्टराई, भवानी घिमिरे, पुनम घिमिरे, उत्तम बिचार भेटवाल र चन्द्रावती अधिकारी । केही सहभागी कवि साहित्यकारहरूले समयाभाव र प्रविधिका कारण आफ्ना सुसेलीहरू प्रस्तुत गर्न असमर्थ रहनु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend