logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

ग्लोबल आइएमई बैंक र प्राइम पावरबीच सम्झौता


  • जन आकाश
  • सोमबार, कार्तिक ५ २०८१

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।



उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्ने छ ।

साथै उक्त अवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत जोड्नका निमित्त नेपाल विद्युत प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी गराए ।

यस परियोजनामा संलग्न लगानीकर्ता समुहद्वारा विभिन्न ५ सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनाहरुमा समेत लगानी रहेको हुँदा यस समुह सौर्य उर्जा क्षेत्रमा नेपालकै अग्रणी समुह हो ।

नेपालमा सञ्चालित सौर्य परियोजनाहरु मध्य उक्त परियोजना सौर्य उर्जाअन्तर्गत विद्युत क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो ।

बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युतमा सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend