logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कवि निद्रा देउजा राजबंशीको कवितासङ्ग्रह ‘’अदृश्य हावा’’ विमोचनका अवसरमा ‘भिक्षु अश्वघोष सम्मानद्वारा’ प्रा.डा.द्वय बज्रराज शाक्य र रन्जना धाख्वा बज्राचार्य सम्मानित


  • जन आकाश
  • बुधबार, कार्तिक ७ २०८१

जयराम बिडारी



काठमाण्डौं– साहित्यिक उन्नयनका क्षेत्रमा लामो समयदेखी क्रियाशील सम्यक सन्देशको आयोजनामा कवि निद्रा देउजा राजवंशी द्वारा सिर्जित कवितासङ्ग्रह “अदृश्य हावा” विमोचन तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण समारोह भव्यताका साथ सम्पन्न गरिएको छ ।

शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षको प्रेक्षालयमा संघाराम विहारका प्रमुख भिक्षु उपतिस्स महास्थवीरको प्रमुख आतिथ्यमा सम्यक सन्देशका संरक्षक एवम् समाजसेवी केदारनाथ श्रेष्ठको अधक्षता तथा विशेष अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालयका पुर्व रजिष्टार प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना अतिथिहरुमा प्रा.डा.बज्रराज शाक्य, प्रा.डा.रन्जना धाख्वा बज्राचार्य, सुगत बौद्ध महाविद्यालयका पूर्व प्राचार्य तिर्थरत्न शाक्य , सम्यक सन्देशका सल्लाहकार एवं बौद्ध अध्येता श्यामलाल चित्रकार, लोमश साहित्य प्रतिष्ठानका अध्यक्ष कवि, साहित्यकार, पत्रकार एवं समालोचक माधव घिमिरे ‘अटल’ लीलादेवी साहित्य पुरस्कारका सस्थापक एवं साहित्यकार लीलादेवी श्रेष्ठ,समाजसेवी चन्द्रदास राजवंशी (लेखिकाका श्रीमान), लगायत बिभिन्न क्षेत्रका प्रतिनिधिहरुका बीच उक्त कार्यक्रम सुसम्पन्न भएको थियो ।

प्रमुख अतिथि उपतिस्स महास्थविरबाट पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको उक्त कार्यक्रममा पञ्चशील बाचन समेत गरिएको थियो । कार्यक्रममा सम्यक सन्देशका सम्पादक तथा अध्यक्ष दिपक भेटुवाल ‘दिपसागर’ले अभ्यागतहरुलाई स्वागत गर्दै कार्यक्रमबारे प्रकाश पारेका थिए । मन्तव्यका क्रममा भेटुवालले सम्यक सन्देश आजको दिनसम्म आइपुग्नुमा भिक्षु अश्वघोषको योगदानको चर्चा गर्दै सम्यक सन्देशले थेरवादी बौद्ध दर्शनलाई प्रचार गरी जनजनमा पुर्याउन खेलेको भूमिकाको चर्चा गरे । भाषा,कला,साहित्यको उन्नयनमा सम्यक सन्देशले निर्वाह गरिरहेको कार्यको मुल्यांकनका आधारमा कवि निद्रा देउजा राजवंशीले आफ्नो पहिलो कृति प्रकाशन गर्ने अवसर सूचक प्रकाशनलाई दिएकोमा आभार प्रकट गर्दै भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण तथा ‘अदृश्य हावा’ कवितासङ्ग्रह सार्वजनिकीकरण एकसाथ आयोजना गरिनुले साहित्यिक एवं धार्मिक सम्योजनको एक सार्थक प्रयास गरिएको बताए ।

उक्त कार्यक्रममा विशेष अतिथिको भूमिकामा रहेका त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा.डा.पार्थिवेश्वर तिमल्सिनाले कवि निद्रा देउजालाई आफूले निक्कै लामो समय देखि चिनेको भए पनि उनको कवि व्यक्तित्वलाई भने बल्ल चिन्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै उनले निद्रा देउजा राजवंशीले यति सुललित कविता लेखेर समाजप्रतिको दायित्व निर्वाह गरेकोमा सिर्जनशील जीवन तथा कृति सफलताको शुभकामना दिए ।

यसैक्रममा सम्यक सन्देशका सल्लाहकार समाजसेवी तथा बौद्ध अध्येता श्यामलाल चित्रकारले मान्छे बौद्धिक हुँदैमा असल हुन्छ भन्ने हुँदैन,त्यसैले असल मान्छे बन्ने प्रयास गर भन्ने भिक्षु अश्वघोषको सन्देशले आफूलाई अभिप्रेरित गरेको बताउँदै बुद्धको पञ्चशिलको सिद्धान्तलाई विश्वसामु पुर्याउनुपर्ने कुरामा जोड दिंदै जीवनको उत्तरार्धमा समेत साहित्य सिर्जनामा तल्लीन रहेकी कवि निद्रा देउजाको सिर्जनशील एवं दीर्घजीवनको कामना गर्दै सम्मानित व्यक्तित्वहरुलाई समेत शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा कार्यक्रममा सम्यक सन्देश प्रकाशनमा लामो समयदेखी महत्वपुर्ण भुमिका निभाएका प्रा.डा.बज्रराज शाक्य तथा प्रा.डा.रन्जना धाख्वा बज्राचार्यलाई ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’ २०८१ बाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि विशेष अतिथ तथा अतिथिहरुको हातबाट कवि निद्रा देउजा राजवंशीकृत कवितासंग्रह “अदृश्य हावा” माथि समिक्षा गर्दै लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष कवि,साहित्यकार,पत्रकार एवं समालोचक माधव घिमिरे ‘अटलले’ कवि निद्रा देउजा राजवंशीले आफ्ना कवितामा देश प्रेम,वर्तमान राजनैतिक अवस्था देखि माया प्रेमलाई समेत सरल र लालित्य रुपमा दर्शाएको बताए । उनले सिर्जनशील दक्षता उमेरका कारण कमजोर अनि मजबुत नहुने बताउँदै देउजाका कवितामा माया,प्रेम बिछोड, प्रकृति,यथार्थ सामाजिक चित्रण,विकृति विसङ्गतिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको उल्लेख गर्दै अधिकांश रचना अभिधात्मक तथा लोकजीवन सम्बद्ध रहेको उल्लेख गर्दै कृति सफलताको शुभकामना दिएका थिए ।

भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार २०८१ बाट पुरस्कृत प्रा.डा.बज्रराज शाक्य तथा प्रा.डा.रन्जना धाख्वा बज्राचार्य मध्य सम्मानित व्यक्तित्वको तर्फबाटबाट प्रा.डा. बज्रराज शाक्यले मन्तव्य राखेका थिए । उनले नेपालमा बुद्ध धर्म लाई तीन किसिमबाट अनुसरण गर्ने समुदाय रहेको उल्लेख गर्दै भिक्षु अश्वघोषले आफ्नो जीवनकालमा यसलाई एकसुत्रमा बाँध्नका लागि अहोरात्र खटी आजको अवस्थामा ल्याइपुर्याउनु भएको चर्चा गरे । भिक्षु अश्वघोषको योगदानको जति प्रसंशा गरे पनि कमै हुने चर्चा गर्दै त्यस्तो विराट व्यक्तित्वको नाममा स्थापित पुरस्कारबाट पुरस्कृत हुन पाउँदा आफू अत्यन्त गौरवान्वित रहेको बताँदै यस कार्यका लागि सम्यक सन्देशको भूमिका तथा मुल्यांकनका लागि समेत आभार व्यक्त गरे । समानान्तर आध्यात्मिक बौद्ध पत्रिका सम्यक सन्देश तथा सूचक प्रकाशले बौद्ध दर्शन प्रचारप्रसारमा निरन्तर गरेको प्रगतिको सराहना गर्दै आगामी दिनमा आफ्नो तर्फबाट समेत हरतरहको साथ र सहयोग गर्ने बाचा गरे ।

सो समारोहमा बौद्ध धर्म र बुद्धका ज्ञान र बौद्ध धर्म प्रचार प्रसार सम्बन्धि कार्यहरुमा महत्वपुर्ण भूमिका निभाएबापत कोहिनुर रञ्जित तथा त्रियान मिडियाका राजु नापितलाई सम्मान गरिएको थियो । यसैगरि कार्यक्रममा बिशेष सहयोग पुर्याएकोमा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्यक सन्देशका अध्यक्ष एवं कार्यक्रम संयोजक दिपक भेटुवाल ‘दिपसागर’ द्वारा लिखित ‘भद्रकुमारी घले र उनका आयामहरु’ पुस्तक मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।


उक्त कार्यक्रममा कवि निद्रा देउजा राजवंशीले आफ्नो एउटा कविता वाचन गर्दै गरिमामय उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गरिन् । उनले कवितालेखनको आफ्नो शृंखला पुरानै भएपनि पहिलो पुस्तककारका रुपमा पाठसमक्ष आउन सम्भव भएकोले समुचित प्रतिक्रियाको अपेक्षाकृत रहेको जनाइन् । लोमश वाङ्मय प्रतिष्ठानका सचिव तथा माइण्ड प्लसका प्रवन्ध निर्देशक कवि नवीन पल्लवद्वारा सहजीकरण गरेको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend