logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लोमश वाङ्मय प्रतिष्ठानको काव्य सभामा ‘’आधा शताब्दी “को परिचर्चा


  • जन आकाश
  • आइतबार, मंसिर २३ २०८१

जयराम बिडारी



काठमाण्डौ । वाङ्मय उन्नयनका लागि साझा चौपारी’’ भन्ने मूल नारा अङ्गीकार गरेको लोमश वाङ्मय प्रतिष्ठानको गजल विशेष काव्य सभामा प्रतिनिधिमूलक गजल वाचन तथा रामप्रसाद सापकोटाकृत ‘आधा शताब्दी’ पुस्तक परिचर्चा गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को अध्यक्षता सम्पन्न सो कार्यक्रममा वरिष्ठ साहित्यकार अनुवादक तथा गजलकार रामबहादुर पहाडी प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरि विशेष अतिथि तथा परिचर्चाकार दीनबन्धु शर्मा,वरिष्ठ पर्यटन व्यवसायी तथा लेखक रामप्रसाद सापकोटा, गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) का अध्यक्ष सकुन्तला पाण्डे देवकोटाको आतिथ्यमा करिव चार दर्जन साहित्यानुरागी हरुको समुपस्थितिमा साउथ वेस्टर्न इस्टेट कलेज वसुन्धरामा आयोजित कार्यक्रम सुसम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रामबहादुर पहाडीले भाषा , कला साहित्यको उन्नयनमा लोमश वाङ्मय प्रतिष्ठानको ऊर्जाशील टिमले छोटै समयमा निर्वाह गरिरहेको कार्य स्तुत्य रहेको बताउँदै साहित्यिक गतिविधिले यस संस्थालाई उचाइमा पुर्‍याउने कुरामा आफू विश्वस्त रहेको बताए । उनले आफूले बिसौँवर्ष अघि रचना गरेको ‘’ के थिएँ म के भएँ आज हाँस्नु पनि रहर भयो के पिएथेँ केही थोपा जिन्दगी नै जहर भयो ‘’ लाई विभिन्न व्यक्तिलेआफ्नै रचना,संगीत र स्वर भनि बौद्धिक चोरी गरेर वास्तविक रचनाकारलाई छायाँमा पार्ने गरी तीनपटक पुरस्कृत भएको दुखेसो व्यक्त गरे । पात्र, समय र स्थानका आधारमा आफूद्वारा सिर्जित गजल चोरी गर्नेहरु बारम्बार पुरस्कृत भएको प्रसंग उल्लेख गर्दै गजलकारका रुपमा रचनाकारको यथेष्ट सम्मान हुन नसकेको बताए । उनले यस प्रतिष्ठानले गजल विशेष कार्यक्रममा आफूलाई प्रमुख अतिथिको रुपमा उभ्याएर गजल लेखनका क्षेत्रमा कृयाशील साधकको सम्मान गरेको रुपमा लिएको समेत बताए ।

सो अवसरमा डा.दीनवन्धु शर्माद्वारा ‘’आधा शताब्दी’’ कृतिमाथि समीक्षा गरिएको थियो । समीक्षाका क्रममा शर्माले सूचना,आत्मपरक र भावनात्मक पक्षमा संस्मरणात्मक शैलीमा आएको सापकोटाद्वारा लिखित ‘आधा शताब्दी’ पुस्तक पर्यटन प्रवर्द्धनका लागि उपयोगी रहने उल्लेख गरे । पर्यटन प्रवर्द्धनमा जोड दिने तथा आर्थिक समृद्धिको लागि बलियो आधारको रुपमा लेखिएको कृति गाइडहरुको लागि समेत उपयोगी हुने बताए ।उनले लेखनमा सापकोले सरल सहज रुपमा इमान्दारिता दर्शाएको समेत बताए । आत्मपरक भावलाई अनुभूतिको अभिब्यञ्जनामा राम्रो सँग समेटेर कृतिलाई सन्तुलित बनाएको उल्लेख गर्दै लेखकको प्रयास अत्यन्तै राम्रो हुँदा हुँदै पनि कतै कतै लेखिएको कतिपय नामहरु नेपालीमै उल्लेख नहुँदा चुकेको बिषयमा समेत सचेत गराउँदै कृति सफलताको शुभकामना व्यक्त गरिएको थियो । उक्त अवसरमा टानका पूर्व अध्यक्ष सीताराम सापकोटाले लगन मेहनत र परिश्रमले उच्चतम व्यक्तित्व निर्माण गर्न सफल लेखकले ‘आधा शताब्दीमा’ त्यो कुरा स्पष्ट पारेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना दिएका छन् । यसैगरि भिटोफकी अध्यक्ष शकुन्तला पाण्डे देवकोटाले सापकोटाको आधा शताब्दी लेखनका क्रममा जीवन भोगाइका कुराहरु आएको बताउँदै लेखन यात्रा निरन्तर अघि बढोस् भनि शुभकामना व्यक्त गरिन् ।

सो अवसरमा कृतिकार सापकोटाले आफूले धेरै विशिष्ट व्यक्तित्वहरुको जीवन संघर्षको अध्ययन गरेको बताउँदै सामान्य मानिसहरुको कथाहरु पनि जनमानसमा आउनुपर्छ भन्ने अभिप्रायले जीवन भोगाईको आधा शताब्दी ल्याएको बताउँदै प्राप्त हुने सुझावलाई शिरोधार्य गर्ने बताए । उक्त अवसरमा भाषा कला र साहित्यका क्षेत्रमा निरन्तर रुपमा कृयाशील रहने गरेका साहित्यसेवीलाई प्रोत्साहन मिलोस् भनेर आफूले लोमश वाङ्मय प्रतिष्ठानको अक्षय कोष निर्माणका लागि एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष माधव घिमिरे ‘अटलले’ संस्थागत गतिशीलता चुनौतीपूर्ण रहने कुराको बोध भएपनि संस्थालाई फरक तरिकाले हाँक्ने मनसुवा रहेको बताएका छन् । संस्थाले प्रत्येक महिनाको चौंथो शनिवार नियमित रुपमा सञ्चालन गरिने रचना वाचनका कार्यक्रमलाई पारम्परिक रुपमा चलिरहेको प्रकृया भन्दा केही पृथक रुपमा सञ्चालन गरिने संस्थाको उद्देश्य अनुसार आजको कार्यक्रममा ‘आधा शताब्दी’ परिचर्चा एवं गजल विशेष कार्यक्रमको रुपमा सञ्चालन गरिएको बताउँदै गत मंसिर ८ गते खेमराज पोखरेलको एकालाप माथि समेत लोमशकै सक्रियतामा परिचर्चा गरिएको बताए । उनले रामप्रसाद सापकोटाद्वारा अक्षयकोष निर्माणका लागि घोषणा गरिएको एकलाख नगद राशिलाई साहित्यिक उन्नयनका क्षेत्रमा नवीन प्रयोग गरिने जानकारी गराउँदै घोषित राशिका लागि सापकोटाप्रति हार्दिक आभार व्यक्त गरे ।

संस्थाकी कार्य समिति सदस्य कमला घिमिरे अधिकारीद्वारा अभ्यागतहरलाई स्वागत गर्दै प्रतिष्ठान निर्माणको तीन महिने छोटो समयावधिमै यथेष्ट चर्चा परिचर्चाको चरम चुलीमा पुग्नु सार्थक उपलब्धि रहेको बताइन् । प्रमुख अतिथिद्वारा गमलामा पानी चढाएर समुद्घाटनन गरिएको उक्त कार्यक्रममा गजलकार मन्दिरा मधुश्री,प्रभाती किरण,होम शङ्कर बाँस्तोला ,विपिन मर्म, विमला दाहाल,रुपक अलंकार,रुबि सत्याल, पार्वती भट्ट,एमपी आस्था, उत्तम ‘विचार’ भेट्वाल, माधव बिडारी ‘चेतनपथ’ दिल पौडेल,सञ्जय सोती, नरहरि प्रेमीले गजल सुनाएर कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए भने रामप्रसाद सापकोटाले कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका सचिव तथा माइण्ड प्लसका प्रवन्ध निर्देशक नविन पल्लवद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा प्रमुख अतिथि लागायत सञ्चारकर्मी तथा गजल वाचकहरुलाई मायाको चिनो तथा सापकोटाकृत आधा शताब्दी प्रदान गरी भव्यताका साथ सम्पन्न गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend