जन आकाश
काठमाडौं । प्रकाश सपुत र परीक्षा लिम्बुको शीर्ष अभिनयमा फिल्म सोल्टिनी निर्माण हुने भएको छ।
निर्माताले सोमबार अनाउन्समेन्ट टिजर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन्। यो फिल्मलाई रङ्गेली निर्देशक अर्जुन सुवेदीले निर्देशन गर्नेछन्। घोषणा भिडिओमा कथा वाचक साइग्रेस पोखरेलको कथा वाचनले फिल्मको भाव व्यक्त गरेको छ।
फिल्मले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने संकेत टिजर भिडिओले गरेको छ।
अभिनेता सपुतले भमसेन पोखरेलको भूमिका निर्वाह गर्ने र अभिनेत्री लिम्बुले दिलासा राईको भूमिका निभाउने टिजरमार्फत जानकारी दिइएको छ।
फिल्ममा अपुरो प्रेमको गहिरो कथा उठान गरिने अनुमान गर्न सकिन्छ। यसको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडिओमा जनाइएको छ। पृष्ठभूमिमा फिल्मको थिम गीतले भावनात्मक स्पर्श थपेको छ।
भिडिओको गीतमा झुमा लिम्बुले स्वर दिएकी छिन्। शब्द तथा संगीत प्रशान्त सिवाकोटीको छ। प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा फिल्म बन्न लागेको हो। निर्मातामा रेजिना विष्ट र संसार चौलागाईं छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend