logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पानीको अभावले पिरोलेको सरस्वती बाल विकास केन्द्र समस्यामा


  • जन आकाश
  • आइतबार, पुष १४ २०८१

बिनाेद नेपाली



काठमाडाैं– दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ६ बुगाडे प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थान विकासको दृष्टिकोणबाट भने निकै पछाडि छ । यहाँको प्रमुख समस्या भनेको खानेपानी हो । ५० घरधुरी रहेको यो वडामा पानीको अभावले स्थानीयवासी मात्र होइन, शिक्षालय पनि गम्भीर समस्यामा छ ।

वि.सं. २०६४ सालमा स्थापना भएको श्री सरस्वती बाल विकास पानीको अभावले सताइरहेको छ । बाल विकास केन्द्रमा अध्ययनरत ३० देखि ४० जना बालबालिकाहरूलाई चिसो कोठामा बस्नुपर्ने बाध्यता रहेको छ । जाडोको समयमा उचित व्यवस्था नहुँदा बालबालिका बिरामी पर्ने क्रम जारी छ ।

बाल विकास केन्द्रकी शिक्षिका नबिना सुनुवारका अनुसार, “विद्यालयमा पानीको समस्या सुरुदेखि नै छ । यहाँ शौचालय पनि छैन, जसले गर्दा पढाइमा थप समस्या आइरहेको छ ।”

बाल केन्द्रको लागि आठबिस नगरपालिकाले भवन निर्माण त गरिदिएको छ, तर आवश्यक सेवा र सुविधाको व्यवस्थापन गर्न सकेको छैन । “बालबालिकाहरू जाडोका कारण लगातार बिरामी भइरहेका छन्,” सुनुवारले थपिन् ।

बाल केन्द्रमा शौचालयको अभाव, पिउने पानीका लागि अभाव, र चिसोबाट जोगिने उपाय नहुँदा यहाँका बालबालिकाहरूको शैक्षिक स्तरमा असर परिरहेको छ ।

बालकेन्द्रमा मात्र होइन, यस वडाका स्थानीय बासिन्दाहरूलाई पनि पानीका लागि घण्टौँ टाढा हिँड्नुपर्ने बाध्यता छ । पानीको अभावले यस ठाउँमा कृर्षिमा समेत असर पुगिरहेको छ ।

शिक्षिका सुनुवारका अनुसार, खानेपानीको समस्या समाधानका लागि पालिका र वडाको विशेष ध्यान आवश्यक छ । पानीका लागि स्थायी स्रोतको व्यवस्था, बाल केन्द्रमा शौचालय निर्माण, र चिसोबाट जोगिन सक्ने उपायहरूको आवश्यकता छ । यसका लागि स्थानीय सरकार र सरोकारवाला निकायले सहकार्य गर्नुपर्ने देखिन्छ ।

आठबिस नगरपालिकाको बुगाडे क्षेत्रको श्री सरस्वती बाल विकास केन्द्रलेले अहिले देखिरहेको समस्या केवल एउटा बालविकस केन्द्रको होइन, यसले समग्र दैलेख जिल्लाको दुर्गम क्षेत्रहरूमा रहेको विकास अभावलाई देखाउँछ । खानेपानी जस्तो आधारभूत सेवाको अभावमा बालबालिकाहरूको भविष्यलाई अनदेखा गर्न सकिँदैन । समस्या समाधानका लागि पालिका, स्थानीय समुदाय, र गैरसरकारी संस्थाहरूले हातेमालो गरेर काम गर्नुपर्ने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend