जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरू वडाध्यक्ष बन्न इच्छुक नदेखिएको भन्दै व्यङ्ग्य गरेका छन्।
चितवन पुगेका सभापति लामिछानेले एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीभित्र अधिकांश नेताकार्यकर्ताको आकाङ्क्षा एकैपटक मेयर, प्रदेशसभा सदस्य तथा ठूला पदमा पुग्ने रहेको बताए। वडाध्यक्षजस्तो तल्लो तहको पदमा उम्मेदवार बन्न भने कसैले रुचि नदेखाएको उनको भनाइ छ।
उनले भने, ‘हाम्रा मान्छे वडाध्यक्ष हेर्दैनन् है ! एकैचोटि पालिका हेर्ने हो, माथि हेर्ने हो, तल हेर्दैनन् हाम्रा साथीहरू। अब यो वडामा चुनाव लड्न त अघि म राजीनामा दिएर आफैँ वडाध्यक्ष उठ्न आउनुपर्ला जस्तो छ।’
वडाध्यक्ष पदका लागि कसैले पनि आवेदन दिएको नदेखेको भन्दै उनले नेताकार्यकर्ताको पदप्रतिको आकाङ्क्षामाथि कटाक्ष गरे। ‘तपाईंहरू त अब धेरै ठूलो हुन थाल्नुभयो,’ उनले टिप्पणी गरे।
लामिछानेले पार्टीभित्र अवसरको राजनीति हाबी हुन थालेको संकेत गर्दै पदका लागि नेताकार्यकर्ताबीच प्रतिस्पर्धा र विवाद बढ्न सक्ने चेतावनीसमेत दिए।
उनले भने, ‘भोलि दुई जना साथीलाई एउटा पद छोड्दिनुपर्यो भन्नुस् त, हानाहान र मारामार हुन्छ। नदिनुस् मेरो त्यागको उदाहरण, यदि त्यसलाई अनुशरण गर्ने तपाईंलाई इच्छा छैन भने। चाहिएन मलाई यस्तो झुटो तारिफ।’
यसैबीच, लामिछानेले पार्टीले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’को विधि अपनाएको जानकारी दिँदै उम्मेदवार छनोट प्रक्रिया विधिसम्मत र पारदर्शी हुने दाबी गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend