logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राइटपाथ नवौँ वर्षमा प्रवेश, भव्य रूपमा मनाइयो आठौँ वार्षिकोत्सव


  • जन आकाश
  • सोमबार, पुष २९ २०८१

काठमाडौं । राजधानीको पुतलीसडकमा रहेको राइटपाथ करियर काउन्सिलिङले शुक्रवार आठौँ वार्षिकोत्सव मनाएको छ ।



संस्थाको प्रधान कार्यालय, पुतलीसडकमा आयोजित एक कार्यक्रमका बिच राइटपाथले आफ्नो स्थापना दिवस मनाएको हो। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई, पूर्व मन्त्री तथा नेकपा एसकी नेत्री रामकुमारी झाँक्री, इक्यान पदाधिकारी तथा सदस्यहरू सहित अन्य अतिथिहरूको समुपस्थितमा वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा परामर्श व्यवसायीहरू, राइटपाथका साझेदार शैक्षिक संस्थाका प्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । आफ्नो सफलताको गौरवपूर्ण आठौँ वर्ष पुरा गर्दै राइटपाथ नवौँ वर्ष प्रवेश गरेको छ । कार्यक्रममा बोल्दै राइटपाथका सिइओ फिलिप डिसीले आजसम्मको साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिए । गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारासहित स्थापित संस्थाले आजसम्म आफ्नो उद्देश्य अनुसारकै काम गरेको उनको भनाइ थियो ।

आफ्ना सबै शाखाहरूलाई यो सफलताको श्रेय दिँदै उनले भने, ‘राइटपाथ यो ठाउँ सम्म आइपुग्नुमा म अगाडी देखिए पनि मेरा लगनशील र मेहनती कर्मचारीहरूको ठुलो भूमिका छ । त्यस्तै देशका विभिन्न भागमा रहेका शाखाहरूको अथक प्रयासका कारण हामी यो स्थानमा आइपुगेका हौँ । आजसम्म धेरै नेपाली विद्यार्थीलाई उनीहरूको रोजाइको गन्तव्य पुर्‍याइरहँदा अभिभावक र विद्यार्थीले हामीलाई देखाउनुभएको विश्वास र माया प्रति म आभारी छु ।’ आफूहरू रहेको पेसा संवेदनशील रहेको भन्दै उनले सकेसम्म उत्कृष्ट र विश्वसनीय सेवा दिने राइटपाथको लक्ष्य रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेकपा एसकी नेत्री झाँक्रीले विदेशमा गएर स्तरीय शिक्षा र ज्ञान, सिप हासिल गर्नु राम्रो भए पनि देशमा केही भएन भन्दै सत्तोसराप गर्ने प्रवृत्ति खराब रहेको बताइन् । विदेश अध्ययनका विविध पाटोहरू केलाउँदै नेपाली समाजको मनोविज्ञान, हाम्रो धरातलीय यथार्थ र बढ्दो बिदेसिने प्रचलनको आलोचनात्मक चिरफार गरेकी उनले परामर्श व्यवसायीहरूले विद्यार्थीलाई सुरुवातमै विदेशको वास्तविकता बारे बुझाउन सक्नुपर्ने धारणा राखिन्। उनले विदेशमा आर्जन गरेको सीपलाई नेपाल ल्याएर प्रयोग गर्न सके आफ्नै देश बनाउन सकिने तर सामाजिक सञ्जालमा नकारात्मकता फैलाएर कहीँ नपुगिने बताइन् । झाँक्रीले राइटपाथलाई सही परामर्श दिएर सफल व्यवसाय गर्न सफलताको शुभकामना दिइन् ।

आठौँ वार्षिकोत्सवको अवसरमा राइटपाथलाई शुभकामना दिँदै इक्यान अध्यक्ष शेषराज भट्टराईले संस्थाले व्यावसायिक र मर्यादित काम गरेर आठौँ वर्ष पुरा गरेको भन्दै आगामी दिनहरू अझै सफल हुने विश्वास व्यक्त गरे। पुर्ववक्ता झाँक्रीको सम्बोधन तर्फ संकेत गर्दै उनले युवा नेताको बुझाई यस्तो रहेछ भने शैक्षिक परामर्श व्यवसायका बारेमा धेरै कुरा आफूहरूले बुझाउन बाँकी रहेको महसुस भएको बताए ।

आफूहरूले विदेश अध्ययनको परिभाषा बदलेको भन्दै उनले भने, ‘हिजो म विद्यार्थी हुँदा विदेश अध्ययन हामीले सोच्न सम्म नसक्ने विषय थियो। अध्ययनका लागि विदेश जाने भनेको केही सीमित कुलीन परिवारका लागि मात्रै हो भन्ने परिभाषालाई बदलेर अहिले माध्यम वर्गीय विद्यार्थीलाई विश्वका विभिन्न ठाउँ पुर्‍याउने काम हामीले गरेका छौँ ।’

यसरी मध्यम वर्गको पहुँचमा विदेश अध्ययन पुगेपछि देश बर्बाद भयो भन्ने भाष्य बनाउन लागिएको भन्दै उनले अगाडी थपे, ‘हामी चाहन्छौँ मध्यम वर्गीय परिवारका विद्यार्थीहरू अझै बढी विदेश जाउन् र स्तरीय डिग्री सहितको ज्ञान, सिप लिएर आएर नेपालको विकासका लागि योगदान गरुन्। हामी पठाउने काम मात्रै गर्दैनौँ नेपाल सरकारले उचित वातावरण बनाए अन्तर्राष्ट्रिय विद्यार्थी नेपाल ल्याउन पनि सक्षम छौँ। मैँले आजको कुरा गरिराखेको छैन तर केही वर्षपछि यो सपना यथार्थ हुनेछ ।’ यसमा झाँक्री जस्ता देशको नेतृत्व गर्छु भन्नेहरूले गम्भीर भएर सोच्नुपर्ने उनको भनाई थियो ।

वार्षिकोत्सवकै अवसर पारेर राइटपाथले पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा दिइएको जानकारी अनुसार संस्थाले केही महिना अघि भएको युरोकप फुटबल प्रतियोगितामा राखेको ‘प्रेडिक्ट एण्ड विन’ (सही अनुमान गरेर पुरस्कार जित्ने प्रतियोगिता) का विजेताहरूलाई पुरस्कृत गरिएको हो। विजेताहरूले स्मार्टफोन प्राप्त गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend