जन आकाश
काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाअीलाई हमास द्वारा बन्धक गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गर्दै पत्र लेखेका छन् ।
यो पहललाई सफल बनाउनको लागि दुबइमा रहेका युवा व्यवसायी रिजवान आलमको महत्वपूर्ण भुमिका रहेको छ ।
नेपाल सरकारले विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास थालेपछि लामो समयदेखि अरब मुलुकहरूसँग सम्बन्ध राख्दै आएका आलमले त्यहाँका उच्च अधिकारीहरूसँग नजिकको सम्बन्ध भएका कारण यो मुद्दामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
नेपालका केही उच्च सरकारी अधिकारीहरूले रिजवान आलमलाई हमाससँग वार्ता गर्न सहयोग गर्न अनुरोध समेत गरेका छन् । उक्त अनुरोध स्वीकार गर्दै आलमले तुरुन्तै आफ्नो प्रभाव प्रयोग गर्दै अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीसमक्ष यो विषय उठाए । रिजवान आलमको सक्रियताले अल–यमाहीले नेपाल सरकारलाई सुझाव दिए कि यदि आधिकारिक रूपमा अनुरोध पठाइयो भने, हमाससँग वार्ता गर्न अझ सरल हुनेछ ।
यसै सन्दर्भमा सभामुख देवराज घिमिरेले अरब संसदका अध्यक्षलाई औपचारिक पत्र लेखेका हुन् । अब सबैको ध्यान अल–यमाहीको निर्णयमा केन्द्रित छ । यदि यो पहलले सार्थकता पायो भने, विपिन जोशी छिट्टै हमासको कब्जाबाट मुक्त हुन सक्ने सम्भावना बलियो देखिन्छ ।
रिजवान आलमको मार्गदर्शन, नेपाल सरकारको सक्रियता, र अरब संसदका अध्यक्षको सहकार्यले विपिन जोशी चाँडै आफ्नो परिवारको काखमा फर्कने आशा गरिएको छ । विपिनको परिवार मात्र होइन, सिंगो नेपालले उनको सकुशल फर्काइको प्रतीक्षा गरिरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend