जन आकाश
काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन्। नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले जनजीविका, राष्ट्रियता, लोकतन्त्र र संविधानसँग जोडिएका महत्वपूर्ण विषयमा छलफल गर्न तत्काल संसद् बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको हो।
बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले प्रतिपक्षी दलका तर्फबाट सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गर्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार संसद् बैठक बोलाएर जनताका समस्या, राष्ट्रियताका सवाल, लोकतन्त्रका विषय तथा संविधानमाथि उठेका विभिन्न प्रश्नबारे गम्भीर छलफल गर्नुपर्ने आवश्यकता बैठकले औँल्याएको छ।
बैठकमा समसामयिक राजनीतिक विषयमा समेत गम्भीर छलफल भएको नेता हमालले बताए। छलफलका क्रममा नेपालको राजनीतिक वृत्तमा विभिन्न गम्भीर समस्या देखिएको निष्कर्ष निकालिएको उनको भनाइ छ।
उनले राष्ट्रियताका विषयमा समेत महत्वपूर्ण प्रश्न उठिरहेको उल्लेख गर्दै जनजीविकाका सवाल, विपद्बाट प्रभावित नागरिकले पाउनुपर्ने राहत, पुनर्निर्माण तथा जनताका समस्याबारे संसद्मा गम्भीर बहस हुनुपर्ने बताए।
प्रतिपक्षी दलहरूले संसद्लाई जनताका समस्या उठाउने र राष्ट्रिय महत्वका विषयमा छलफल गर्ने प्रभावकारी थलोका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। सोमबारको बैठकले सरकारलाई संसद् बैठक तत्काल आह्वान गर्न दबाब दिने निर्णयसमेत गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend