logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

कांग्रेसकाे आधिकारिकता विवादलाई बिचौलियासँग जोडेकोमा गगन सचिवालयको आपत्ति


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र लगाइएका आरोपप्रति गम्भीर आपत्ति जनाएको छ।



सभापति गगन थापाको सचिवालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक भएका समाचार तथा आरोपहरू निराधार, कपोलकल्पित र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित रहेको दाबी गरेको हो।

सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको कांग्रेसको आरोप छ।

कांग्रेसले पार्टीको विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको तथा त्यसबाट नेतृत्व र निर्णयको आधिकारिकतासम्बन्धी विषय निर्वाचन आयोग र अदालतका निर्णयबाट पुष्टि भइसकेको जनाएको छ। त्यसैगरी, नेपालको संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप सुदृढ बनाएको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले लोकतन्त्र, जनअधिकार र विधिको शासनका पक्षमा आवाज उठाउँदा पार्टी र नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास हुने गरेको दाबीसमेत गरेको छ। लोकतन्त्र, सुशासन र जनसरोकारका विषयमा सरकारलाई साथ दिने तर नागरिक स्वतन्त्रता, शक्ति पृथकीकरण, प्रेस स्वतन्त्रता र संवैधानिक सर्वोच्चताविरुद्ध हुने गतिविधिको सशक्त प्रतिवाद गर्ने पार्टीको धारणा रहेको जनाएको छ।

यसैबीच कांग्रेसले बिचौलियासँग सम्बन्धित विषय र त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष तथा प्रमाणमा आधारित अनुसन्धान गर्न माग गरेको छ। दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने भन्दै त्यसमा सरकारलाई पूर्ण साथ र समर्थन रहने विज्ञप्तिमा उल्लेख गरिएको छ।

तर अनुसन्धान प्रक्रिया निष्पक्ष र पारदर्शी हुनेमा कांग्रेसले आशङ्का व्यक्त गरेको छ। अनुसन्धानमा संलग्न निकायको छापसहितका तथ्य तथा कथित बयानहरू छानिछानी सार्वजनिक भइरहेकाले केही प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास भएको हुन सक्ने आशङ्का कांग्रेसले जनाएको छ।

सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विवरणले अनुसन्धान चयनात्मक ढङ्गले अघि बढेको हो कि भन्ने प्रश्नसमेत उब्जाएको कांग्रेसको भनाइ छ। अनुसन्धान गर्ने निकायभित्रैका व्यक्तिहरूको संलग्नतासम्बन्धी विषय बाहिर आइरहेकाले समग्र अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा पार्टीले जोड दिएको छ।

कांग्रेसले कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट आफूहरू पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ।

अन्त्यमा कांग्रेसले सम्बन्धित सबै पक्षलाई प्रमाण र तथ्यका आधारमा जिम्मेवार ढङ्गले विषय प्रस्तुत गर्न तथा आमनागरिकलाई अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend