जन आकाश
– जयराम बिडारी
कात्तिक १६, काठमाडौँ
उन्नतिशीला बोहरा सांगीतिक साँझ- २०८३’ पहिलो संस्करण भव्यताका साथ सम्पन्न गरिएको छ ।
नेपाल पुलिस क्लबको सभाहलमा आयोजित उक्त विशेष कार्यक्रम ‘उन्नती बोहरा शीला गीत पुरस्कार मञ्च’ को आयोजनामा सम्पन्न गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलबिक्रम नेम्वाङ ‘वैरागी काइला’ को प्रमुख आतिथ्य तथा उन्नति बोहरा ‘शीला’ को सभापतित्व तथा राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिंग्देन, पशुपति समशेर जबरा कमल थापाको विशिष्ट आतिथ्यमा सम्पन्न गरिएको थियो ।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरी मंगल धुनका साथ गरिएको थियो, भने राष्ट्रिय गान बजाइएको थियो । उक्त अवसरमा प्रमोद खरेल तथा बानिका प्रधानद्वारा स्वागत गीतको रुपमा ‘जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी’ गाइएको थियो ।
समारोहमा अभ्यागतलाई स्वागत गर्दै कार्यक्रमकी सभापति ‘शीला’ ले आफ्नो जीवनको आरोह अवरोह गीत सिर्जना र साहित्यका लागि समर्पण गरेको बताइन् । उनले दर्शक श्रोताको भव्य उपस्थितिले समग्र गीत सङ्गीतको अनि सिर्जनाको उचाइ अझ बढाएको उल्लेख गर्दै यो एकल साँझ आफ्ना दिवंगत पति दीपक बोहरा र छोरी चाँदनी बोहराप्रति समर्पित गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि तिलविक्रम नेम्वाङ वैरागी काइला द्वारा उन्नति बोहरा शीलाको लामो समयको गहन साधनाको पुनर्मूल्यांकन गरिएको दिनको रुपमा आजको दिनलाई लिन सकिने बताए । उनले शीलाको छ दशकको गीति साधनाले पाएको उपलब्धिलाई आजको यस भव्य समारोहले अनुमोदित गरेको मात्र नभई पुरस्कृत गरेको बताउँदै शीलाका आगामी दिनहरु गीतिलेखनमा गुणातीत सफलता प्राप्त गरुन् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रममा विगत छ दशकदेखि नेपाली साहित्य र सङ्गीत जगतलाई मर्मस्पर्शी शब्दहरू समर्पित गर्दै आएकी वरिष्ठ गीतकार तथा प्राज्ञ उन्नती बोहरा ‘शीला’ को कालजयी गीत ‘फर्की आऊ शान्ति तिमी’ लगायत उनीद्वारा रचि गीतहरुमध्य २५ गीतहरु प्रस्तुत गरिएका थिए ।
उक्त अवसरमा वरिष्ठ सङ्गीत रत्न शम्भूजीत बासकोटालाई नगद राशि एक लाख एकाउन्न हजार रुपैयाँसहित भव्य अभिनन्दन गरिएको थियो,भने विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूले गीतकार शीलालाई सामूहिक बधाईपत्र प्रदान गरिएको थियो ।
बधाईपत्र दिने संस्थाहरूमा साहित्यिक पत्रकार संघ, वनिता साहित्यिक पत्रिका भद्रकुमारी घले सेवा सदन,गुञ्जन नारी साहित्य प्रतिष्ठान,शंकर लामिछाने प्रतिष्ठान, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान, नारी साहित्य प्रतिष्ठान,रमाकृण सिर्जना प्रतिष्ठान, प्रमोदराज पाण्डे-सावित्री पाण्डे स्मृति प्रतिष्ठान, मानचित्र पब्लिकेशन, र दोभान साहित्यिक पत्रिका थिए ।
सोही अवसरमा भाषा,कला,साहित्य र साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टा तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरुमा वरिष्ठ गायिका मीरा राणा,वरिष्ठ साहित्यकार उषा शेरचन,लोकप्रिय तथा प्रतिष्ठित गायक कर्णदास,वरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्का,सङ्गीत संयोजक तथा वरिष्ठ साक्सोफोनिस्ट मनोहर सुनाम, वरिष्ठ सङ्गीतकार अमुल कार्की ढली,चलचित्र निर्देशक तथा वरिष्ठ पत्रकार डब्बु क्षेत्री,वरिष्ठ रङ्गपत्रकार राजाराम फुयाँल,चर्चित नृत्याङ्गना प्रिती शाह,र फोटोग्राफर मनोज शाही थिए ।
कार्यक्रममा गीतकार शीलाको एकल रचना तथा शम्भूजीत बास्कोटा र दीपक जङ्गमको सङ्गीत रहेका पच्चीस लोकप्रिय र कालजयी गीतहरूमा चर्चित गायक-गायिकाहरूले प्रत्यक्ष वाद्यवादनका साथ प्रस्तुत गरे । सो अवसरमा बानिका प्रधानद्वारा ‘फर्काउदेउ मेरा सारा प्रेमपत्रहरु’ उदीतनारायण झा को मूल गायन रहेको कहिंकतै लड़खड़ाएँ भने गीतमा प्रमोद खरेल, सञ्जीवनीको मूल गायन रहेको बाँध- बाँध मलाई मायाले बाँध-माण्डवी त्रिपाठीले प्रस्तुति दिए । भूपेन्द्र सिंहको मूल गायनमा रहेको ‘त्यो दिन याद गर प्रिय’ प्रवीण बेदवाल, रामकृष्ण ढकालको मूल गायन रहेको ‘भूल भयो मबाट’ जगदीश समाल, कर्णदासद्वारा ‘यति गहिरो चोट छ मनमा,कस्ले पो देख्छ र ‘फर्की आउ शान्ति तिमी’ गरी तीन प्रस्तुति दिएका थिए ।
यसैगरी स्नेहा पन्तको मूल गायन रहेको ‘सिमलको फूलसरीलाई प्राश्ना शाक्य, ‘म झरनासंग झरझर’ जगदीश समाल,आनन्द कर्कीले दुई प्रस्तुति ‘बदनाम हुन देउ‘ र कुमार सानुको मूल गायनमा रहेको ‘सङ्गै जिउने सङ्गै मर्ने’ दिए । गायिका संगीता राना प्रधानद्वारा ‘नगर छेडखानी मलाई’ भन्ने प्रकृतिप्रधान गीत प्रस्तुत गरिन् । यसैगरि योगेश बैद्यको मूल गायन रहेको ‘यो लामो जीवनमा’ प्रवीण बेदवाल,अञ्जु पन्तको मूल गायन रहेको’ मेरा आशक्तिका भावना र देविका बन्दनाको मूल गायन रहेको ‘मलाई उजाड बनाएर’ गीतलाई गायिका निशा देशारले मूलमर्म नबिगारी प्रस्तुत गरिन् ।
सोही क्रममा उदीतनारायण झा र अञ्जु पन्तको मूल गायन रहेको ‘सेती खोला संगसंगै तरौंला’ गीत सञ्जय तुम्रुक र बानिका प्रधानले प्रस्तुत गरे । विश्व नेपालीले ‘के भुल गरें मैले‘ र साधना सरगमको मूल गायन रहेको ‘ डाँडाकाँडा ढकमक्क ढाकी’ टीका प्रसाईले प्रस्तुत गरिन् । कविता कृष्णमूर्तिको मूल गायनमा रहेको ‘आँखाको परेलीमा’सरिता शाहीले प्रस्तुत गरिन् । सुरेश र रचना रिमालको संयुक्त गायन रहेको ‘तिम्रो मेरो प्रेम कहानी’सुरेश र माण्डवी त्रिपाठीले प्रस्तुत गरे ।
कार्यक्रममा कविता कृष्णमूर्तिको मूल गायनमा रहेको ‘ए निलगगनमा उड्ने पंक्षी’ प्राश्ना शाक्य, टीका प्रसाईंले ‘तिमी नभए’ र उपस्थित कलाकारहरुले सामूहिक रुपमा गुराँसको रङ्ग रातो गाएर कार्यक्रम भव्य बनाएका थिए भने, २१ जना वाद्यवादकको टोलीलाई वरिष्ठ सङ्गीतकार तथा संयोजक मनोहर सुनामले कुशल नेतृत्व दिएका थिए ।
भव्य रूपमा सञ्चालित सो कार्यक्रमको सहजीकरण पत्रकार हेम सुवेदी र सेसेमी लिम्बूले गरेका थिए । पाँच घण्टासम्म निरन्तर सञ्चालित सो समारोहमा सङ्गीतकार दीपक जङ्गम, गीतकार राजेन्द्र थापा र श्रीपुरुष ढकाल, अभिनेता नीर शाह, अभिनेत्री वसुन्धरा भुसाल, मञ्चका संरक्षक राधेश्याम लेकाली, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापा,वरिष्ठ सङ्गीतकार राजु सिंहलगायत कला, साहित्य, राजनीति र समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend