logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय आविष्कार केन्द्रले गर्‍यो अस्पतालका ५०० उपकरणको मर्मत


  • जन आकाश
  • मंगलबार, फाल्गुन २० २०८१

काठमाडौं । काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत गरेका छन् । १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत गर्ने राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो ।



स्वास्थ्य तथा जनस‌ख्या मन्त्री पौडेलले गत भदौ १८ गते १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए ।

सम्झौतापछि हालसम्म १० वटा संघीय अस्पतालमा ५०० उपकरणको मर्मत भएको हो ।

६६१ वटा उपकरणको मूल्यांकन गरिएकामा ५०० को मर्मत सम्पन्न भएको केन्द्रका इञ्जिनियर उमेश किराँतीले जानकारी दिए । किराँतीका अनुसार केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको हो ।

आविष्कार केन्द्रले बनाउँदैछ वीर अस्पतालका बिग्रेका उपकरण

बजार मूल्य २४ करोड ३० लाख लाग्ने उपकरण मर्मत गरिएको उनको भनाइ छ ।

सरकारको निकै न्यून खर्चमा ती उपकरणको मर्मत भएको किराँतीको दावी छ । बाँकी अस्पतालबाट पनि आग्रह आएमा उपकरण मर्मत गर्न हामी तयार रहेको उनले बताए।

‘केन्द्रले गरेको मर्मतमा सामान्य तार जोड्नेदेखि थप सामग्री मगाएर गरिएका जटिल मर्मत पनि छन्’ उनले भने ’कतिपय अस्पतालमा तारसम्म मर्मत नगरेर राखिएका उपकरण पनि भेटियो । ती सबैको मर्मत भएको छ ।’

केन्द्रका प्रमुख महावीर पुनले हालसम्म ५०० उपकरण मर्मत भएको भन्दै यो सक्रियताका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जाल पुनले लेखेका छन्, स्वास्थ्य मन्त्रीज्युको सक्रियतामा १७ वटा संघीय अस्पतालका उपकरण मर्मत सम्भार गरी दिने सम्झौता गरेको थियो ।

लाखौं पर्छ भनेर अस्पतालले उपकरण थन्क्यायो, आविष्कार केन्द्रले विना खर्च बनायो

सोही सम्झौताअनुरुप अहिलेसम्म ५०० जति उपकरण मर्मत गरेको र करोडौं रुपैयाँ बचत भएको प्रगति रिपोर्ट छ ।

स्वास्थ्य मन्त्री पौडेलले केन्द्रलाई धन्यवाद दिँदै सहकार्य जारी रहने बताएका छन् ।

‘संघीय अस्पतालको सेवा विस्तारमा महत्वपूर्ण यो सहयोगका लागि धेरै धन्यवाद महावीर दाइ’ मन्त्री पौडेलले भनेका छन्, ‘मर्मत भएका उपकरणका कारण पहिलेभन्दा धेरैले सहयोग पाउने वातावरण

बनेको छ। स्वदेशी सीपको प्रयोग गरेर अस्पतालको सेवा सुधार गर्ने हाम्रो अभियानमा तपाईंसँगको साथ र सहकार्य निरन्तर रहनेछ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend