logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लुम्बिनीमा चिनियाँ चलचित्रको छायांकन हुने


  • जन आकाश
  • मंगलबार, चैत्र ५ २०८१

काठमाडौं ।  चिनियाँ कलाकारहरूले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने भएका छन्।



‘म कहिल्यै नमरी जिउन चाहन्छु’ नामक चलचित्रको एकतिहाइ भाग बुद्ध जन्मस्थल लुम्बिनीमा छायांकन गर्ने गरी चलचित्रका निर्माता तथा कलाकारहरूले लुम्बिनीमा छलफल समेत गरेका छन्।

चिनियाँ कलाकारहरूको टोलीले लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरूसँग लुम्बिनीमा चलचित्रको छायांकन गर्ने विषयमा छलफल गरेका छन्।

चलचित्रका निर्माता चाउ डिफिङले आफूहरू अहिले चलचित्रको छायांकनको लागि प्रारम्भिक जानकारी लिन मात्रै आएको बताए।

उनले चलचित्रमा चिनियाँ दूतावाससहित लुम्बिनी र बुद्धसँग सम्बन्धित स्थलहरूमा छायांकन गराइने जानकारी दिए।

चलचित्र निर्माण तथा कलाकारहरूको टोलीले पहिले चिनियाँ दूतावासमा छायांकन गरेर पछि मात्रै लुम्बिनीमा छायांकनका लागि आउने बताए।

उनले चलचित्रमा बुद्धको जीवनको सन्देशलाई उतार्न खोजिएको र लुम्बिनी आएर छायांकन गरेपछि मात्र चलचित्रले पूर्णता पाउने बताए। निर्माता चाउसँगै छायांकार डेङ्ग छुङमिन समेत लुम्बिनी आएका थिए।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई  (सिद्धिचरण) ले बुद्ध र लुम्बिनीको सकारात्मक रूपमा प्रचार गर्ने गरी चलचित्र निर्माण हुने कुराले खुसी तुल्याएको बताए।

उनले चलचित्रले चीनका नागरिकहरूमा बुद्ध र लुम्बिनीका बारेमा सकारात्मक प्रभाव पार्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

छलफलमा कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्दा पनि जीवनमा भएका पापहरू क्षम्य हुने भनी बौद्ध शास्त्रमा लेखेको उल्लेख गर्दै बुद्धको सन्देशलाई सही रूपमा चलचित्रले उठान गर्न सुझाव दिए।

लुम्बिनीमा शाक्यमुनि बुद्ध र कपिलवस्तुमा क्रकुछन्द र कनकमणि बुद्धको जन्म भएकाले ती क्षेत्र र बृहत्तर लुम्बिनीलाई पनि समेटेर छायांकन गर्दा अझ प्रभावकारी हुने उनले बताए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend