logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

विद्युत प्राधिकरणलाई सूर्यनाथ यादवले गरे ४० लाखको जग्गा दान


  • जन आकाश
  • मंगलबार, चैत्र ५ २०८१

काठमाडौं । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ निवासी सूर्यनाथ यादवले विद्युत प्राधिकरणलाई ४० लाखभन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् ।



नेपाल विद्युत् प्राधिकरण धनुषाधाम वितरण केन्द्र प्रमुख रोशनकुमार सिंहलाई जग्गाको लालपूर्जा हस्तान्तरण गर्दै सूर्यनाथ यादव (वायाँ)।

विद्युत प्राधिकरणको स्थायी भवन निर्माणका लागि यादवले धनुषाधाम चोक नजिकको २ कठ्ठा जग्गा हस्तान्तरण गरेका हुन् । हाल सो क्षेत्रको जग्गाको मूल्य प्रतिकठ्ठा कम्तिमा २० लाख रहेको यादव बताउँछन् ।

उनले सोमबार भूमिसुधार तथा मालपोत कार्यालय धनुषामा औपचारिक रूपमा विद्युत प्राधिकरणको नाममा उक्त जग्गा पास गरिदिएका छन् । सो जग्गाको लालपूर्जा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख रोशनकुमार सिंहलाई हस्तान्तरण गरेका छन् ।

जग्गादाता यादवले धनुषाधामको विकास र नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विद्युत प्राधिकरणलाई जग्गा दान गरेको बताए ।

धनुषाधाम वितरण केन्द्र २०७७ सालदेखि घर भाडामा लिएर सञ्चालन भइरहेको छ । वितरण केन्द्र प्रमुख सिंहले यादवको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै स्थायी भवन निर्माणपछि स्थानीयवासीलाई अझ राम्रो सेवा प्रदान गर्न सकिने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend