जन आकाश
काठमाडौं । नेपाल– नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले मार्च ३१, २०२५ मा ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ ।
‘रुफ अफ द वल्र्ड’ भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्मको यो ऐतिहासिक सेड्युल उडान सेवामार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने छ, जुन एअरलाइन्स्को लागि एक महत्वपूर्ण कोसेढुङ्गा रहनेछ ।
नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय हवाई यात्रालाई टेवा पु¥याउन समर्पित, हिमालय एअरलाइन्स्ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न आफ्नो उडान सञ्जाल बिस्तार गर्न जारी राखेको छ ।
ल्हासा–पोखरा–ल्हासा उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यहरूको पर्यटन वृद्धिमा सहयोग गर्ने एअरलाइन्स्को प्रतिबद्धतालाई जोड दिन्छ ।
हिमालय एअरलाइन्स्ले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू पनि थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छ ।
ऐतिहासिक ल्हासा–पोखरा उडान-H9 732_ ले ल्हासा गोङ्गर विमानस्थलबाट आज चीनको स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा १४ः३९ बजे उडान भ¥यो र एक घण्टा चौतीस मिनेटको उडान समय पछि कुल १०७ यात्रुहरूसहित आजै नेपाली स्थानीय समयअनुसार १३ः५६मा पोखरा अवतरण ग¥यो । यसै गरी, ऐतिहासिक पोखरा–ल्हासा उडान -H9 731_ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा अवतरण गर्ने छ ।
नयाँ ल्हासा–पोखरा–ल्हासा उडानले यात्रुहरूलाई नेपालको पर्यटन राजधानी पोखरा र चीनको ऐतिहासिक तथा मनोरम सहर ल्हासाबीच सिधा र सहज हवाई सेवाको विकल्प प्रदान गर्दैछ ।
हिमालय एअरलाइन्स् आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै सुस्त ग्रीष्मकालीन सिजनमा पनि पर्यटन बढ्ने अपेक्षा गरिएको छ ।
यस ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा उडान सेवाको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो ।
यसका साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय अरुणकुमार चौधरी, गण्डकी प्रदेशका माननीय उद्योग र पर्यटन मन्त्री मित्रलाल बस्याल, नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देव चन्द्र लाल कर्णलगायत अन्य विशिष्ट व्यक्तिहरूलाई हिमालय एअरलाइन्स्का अध्यक्ष, झोउ एनयोङ, उपाध्यक्ष–प्रशासन विजय श्रेष्ठ तथा हिमालय एअरलाइन्स्का अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले पनि कार्यक्रममा उपस्थिति जनाउनु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend