logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

खसको गौरवशाली इतिहासलाई बिर्सनु हुन्न : गोर बाहादुर कार्की


  • जन आकाश
  • आइतबार, चैत्र ३१ २०८१

काठमाडौं । समयक्रममा खस र कस शब्दहरू कहिले काँही मिल्नेजुल्ने जस्ता लागे पनि प्रारम्भमा दुवै शब्दको अर्थ फरक र सम्मानजनक नै थियो। खस शब्दले गौरवशाली इतिहास बोकेको जातिको परिचय दिन्थ्यो। तर आजको अवस्थामा, खस शब्दलाई अपमानजनक रूपमा लिन थालिएको छ, जसले गर्दा आफ्नो गौरवशाली इतिहासलाई बिर्सनुपर्ने जस्तो अवस्था सिर्जना भइरहेको छ।



देशमा जातीय वर्गीय विश्लेषणको सन्दर्भमा हेर्दा, “म खस हुँ” भन्नुमा गर्वको अनुभूति हुनुको सट्टा अपहेलनाको आभास हुने अवस्था आएको छ। त्यसैले खसको पहिचानलाई सम्मानसाथ उच्चारित गर्न सक्ने वातावरण सिर्जना गर्नु आवश्यक छ।

यदि सिंजा साम्राज्यमा जन्मिएका वीर सपूतहरू — जस्तै नरहरिनाथले खस जातिको भाषा, धर्म, संस्कृति र सभ्यताको मूल थलो जुम्लाको सिंजा भएको कुरा विश्वसमक्ष स्पष्ट नगरेका भए, आज हामी भाषाको जननी सिंजा हो भन्न समेत संकोच मान्नुपर्ने अवस्था आउन सक्थ्यो।

खसहरूको योगदान केवल भाषा र धर्ममा मात्र सीमित छैन। सिंजाको आकर्षक हिमाली सौन्दर्य, झरनाहरू, डाँफे चरी, कस्तुरी मृग, च्याउ, यार्सागुम्बा, जडीबुटी, मार्सी धान, स्याउखेती, र सिमीजस्ता सम्पदाहरू पनि लोप हुने स्थितिमा छन्। अव्यवस्थित विकास र संरक्षणको कमीले गर्दा संस्कृतिमा विकृति देखिएको छ।

खस भाषामा गाइने देउडा गीत, छैटि, सिंगारा, भैलो, देउसीमा गाइने मागल, झुडा, चुट्किला, बालो नाच, हुड्केउली नाच, छलिया नाच, र पञ्चे बाजामा गाइने सुरिला भाका — न्याउली र कोइलीका आवाजहरू — क्रमशः हराउँदै गएका छन्।

वर्खामा चरनका लागि तयार पारिएका खरक आटिहरू अहिले वनजंगलका हरियाली सँगै हराउँदै छन्। शुद्ध गाई, भैँसी, भेडाबाख्राको मलको प्रयोग पनि घट्दै गएको छ।

अब आवश्यक छ — मेलापर्वहरूमा शुद्ध खस भाषा प्रयोग होस्, खस भाषाका पाठ्यपुस्तक तयार गरियोस्, कर्णाली प्रदेशका प्राचीन संस्कृति र परम्पराहरू नास नहोस्, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यान त्यसतर्फ केन्द्रित होस्।

कर्णाली क्षेत्रका मेलापर्व, धामी नाच, ढुङ्गाका देवलहरू, कृतिस्तम्भहरू — यी सबैलाई संरक्षित गरी विश्वमा चिनाउने प्रयत्न गरिनुपर्छ। यसका लागि महोत्सव तथा प्रदर्शनीहरू आयोजना गरि, सिलालेख र ऐतिहासिक दस्तावेजमार्फत खसको इतिहास उजागर गरिनु जरुरी छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend