जन आकाश
काठमाडौं — खानेपानी मन्त्री प्रदीप यादवले वेठ ४ गते आफ्नो क्षेत्रभित्र नाला र ढल निर्माणको शिलान्यास गरेका छन्।
पर्साको वीरगञ्ज महानगरपालिका–१८ सुप्चैना र वडा नं. २१ को परवानीपुर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार ल्याउने तथा डुवानको समस्या हटाउने उद्देश्यले १,२५६ मिटर लामो नाला निर्माण हुन लागेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ढल र नाला निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या पूर्ण रूपमा समाधान हुने र सवारी आवागमनमा समेत सहजता आउने बताएका छन्। उनले भने, “नाला तथा ढल निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुन्छ र सडक पनि व्यवस्थित हुनेछ।”
मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको बताए। उनले विकास निर्माणमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेकोमा पनि जोड दिए।
“खानेपानी तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय कामहरू भएका छन्। नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्ण प्रतिबद्ध छ,” उनले भने, “विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक छ।”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend