logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हार्मोनियममा विश्व कीर्तिमान बनाउने : विमल साह


  • जन आकाश
  • बिहिबार, जेष्ठ ८ २०८२

काठमाडौं । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर निवासी विमल साहले हार्मोनियममा विश्व कीर्तिमान बनाएसँगै अहिले उनी चर्चाको शिखरमा छन्।



वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले उनलाई संसारकै पहिलो डिजिटल ट्युनिङ विशेषज्ञको रूपमा सम्मान गरेपछि उनको चर्चा देश–विदेशमा फैलिएको छ। यस विशिष्ट उपलब्धिपछि उनलाई बधाई तथा सम्मान दिनेहरूको ओइरो नै लागेको छ।

विमल साहको जीवन यात्रा साधारणदेखि असाधारणसम्मको प्रेरणादायी कथा हो। वि.सं.२०४६ सालमा सत्यनारायण साह र राधिकादेवी साहका सुपुत्रको रूपमा जन्मिएका विमलले प्रारम्भिक जीवन सर्लाहीकै श्रीनगरमा बिताए। तर, आर्थिक तथा व्यावसायिक भविष्यको खोजीमा उनी २०७२ सालतिर काठमाडौं आइपुगे। त्यतिबेला उनी पशुपति क्षेत्र नजिकै हार्मोनियम मर्मत गर्ने काम गर्थे। हार्मोनियम सफा गर्ने, पेच कस्ने काम गर्दै आएका साहले त्यो साधारण पेशालाई जीवनको ध्येय बनाएर अगाडि बढे।

कसैले सोचेका थिएनन् कि यही साधारण कामबाट विमलले एक दिन डाक्टरको उपाधि पाउनेछन्, त्यो पनि डिजिटल ट्युनिङको क्षेत्रमा। आफ्नै लगनशीलता, इमानदारी र निरन्तर अभ्यासको कारण उनले आज हार्मोनियम ट्युनिङको क्षेत्रमा विश्व स्तरको पहिचान बनाएका छन्।

उनी नेपालका मात्र नभई भारत, चीन, मलेसिया, अस्ट्रेलिया जस्ता देशहरूमा पनि हार्मोनियम मर्मत तथा ट्युनिङ सम्बन्धी कार्यका लागि भ्रमण गरिसकेका छन्। हार्मोनियमको दुनियाँमा यस्तो योगदान दिने उनी संसारकै पहिलो व्यक्ति हुन् जसलाई वर्ल्ड बुक अफ रेकर्ड्सले डिजिटल ट्युनिङको क्षेत्रमा डाक्टरको उपाधिसहित सम्मानित गरेको हो।

उनको यो सफलता देखेर नेपालका विभिन्न विशिष्ट व्यक्तित्वहरूले उनलाई बधाई दिइसकेका छन्। जसमा आजपा अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायत रहेका छन्। यति धेरै सम्मानको आग्रह आए पनि साह हाल व्यस्तताको कारण सबै कार्यक्रममा सहभागी हुन सकिरहेका छैनन्।  गाउँ फर्कने ठूलो इच्छा छ तर समयको अभाव छ, भन्दै उनले गाउँवासीलाई छिट्टै भेट्ने वाचा गरेका छन्।

संगीत क्षेत्रमा विमल साह अहिले कलाकारहरूको पहिलो रोजाइ बनेका छन्। नेपालका चर्चित गायकगायिका — शम्भुजीत बाँस्कोटा, दीप श्रेष्ठ, कुन्ती मोक्तान, रामकृष्ण ढकाल, अन्जु पन्त, राजेशपायल राई, प्रमोद खरेललगायत — सबैले विमलबाट हार्मोनियम ट्युनिङ गराइसकेका छन्। त्यस्तै, भारतीय संगीतकार तथा गायक उदित नारायण, कुमार सानु, सोनु निगम, अनु मलिकजस्ता कलाकारहरू समेत विमलको प्रशंसा गर्दै आएको देखिन्छ।

विमलसँग अहिले आफ्नो नै  विमलू ब्रान्डको हार्मोनियम निर्माण हुँदै आएको छ। उनको पसलमा हार्मोनियम बनाउन कम्तिमा एक महिना कुर्नुपर्ने स्थिति छ। हार्मोनियम सुनेर सुर र बेसुर छुट्याउने, ट्युनिङ मिलाउने, मर्मत गर्ने उनको दक्षता आज सम्पूर्ण नेपाली संगीत क्षेत्रका लागि अमूल्य बनेको छ।

२०७३ सालमा उनले जम्मा ३० हजार लगानीमा ‘पशुपतिनाथ हार्मोनियम पसल’ सुरु गरेका थिए। आज त्यो पसल एउटा प्रतिष्ठित ब्रान्डमा रूपान्तरण भएको छ। संगीतप्रेमी, विद्यार्थी, तथा  गायकहरू सबैका लागि उनी विश्वासिलो नाम बनेका छन्।

उनले सफलताको मूल मन्त्र भने यसरी दिएका छन् – “इमानदार भएर काम गर्नुस्, मेहनत गर्नुस् र मानिसहरूलाई माया र विश्वास दिनुस् — सफलता एक दिन अवश्य आउँछ।”

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend