जन आकाश
काठमाडौं । भक्तपुरको मध्यपुर थिमिस्थित पाचो धिमे खलले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले दाबी गरेको छ ।
कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका युवाहरुलाई आभार व्यक्त गर्दै आवश्यक ठाउँमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि हुनु सुखद रहेको माननीय थापाको भनाई थियो । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय ललितपुर भैंसेपाटीको लागत साझेदारीमा खलःले सम्पन्न गरेको धिमे बाजा प्रशिक्षणमा ५३ जना युुवायुुवतीहरु प्रशिक्षित भएको कार्यक्रम संयोजक सुशन प्रजापतिले जनाए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रको कला, संस्कृति, बाजागाजा संरक्षणको लागि नगरपालिकाले आवश्यक सहकार्य गर्ने बताए । धिमे बाजा, बांसुरी, नौ बाजा, म्वायलि लगायत लोपोन्मुक बाजा संरक्षण गर्नुपर्नेमा जोड दिंदै धिमे बाजा प्रशिक्षण कार्यक्रम आयोजकलाई धन्यवाद दिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend